काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवालीले नयाँ सरकार गठनसँगै आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास जनतामा देखिएको बताएका छन् ।
हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि झण्डै दुई तिहाई बहुमतको सरकार गठन हुने र त्यसले राजनीतिक स्थिरता कायम भई आर्थिक नीतिमा स्थायीत्व आउने अपेक्षा गर्न सकिने उनले उल्लेख गरे। आज कुरा गर्दै उनले सरकारले आर्थिक नीतिमा स्थायित्व कायम गर्नु, जेनजी आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणलाई प्राथमिकता दिनु र निजी क्षेत्रको लगानी वातावरण सुधार गर्नु आवश्यक रहेकामा जोड दिए ।
“सरकार परिवर्तनसँगै आर्थिक नीतिमा बारम्बार परिवर्तन गर्दा व्यावसायिक क्षेत्र र लगानीकर्तामा अनिश्चितता सिर्जना हुन्छ । एक वर्ष एउटा नीति र अर्को वर्ष अर्को नीति परिवर्तन गर्ने प्रवृत्तिले व्यावसायिक अपेक्षामा प्रतिकूल प्रभाव पाछर्,” प्राडा ज्ञवालीले भने, “अब नयाँ सरकार आफ्नो कार्यकालसम्म रहने जनताले अपेक्षा गरेका छन् । त्यस्तो सरकारबाट आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास गर्न सकिन्छ । नयाँ सरकारले पाँच वर्षसम्म आर्थिक नीतिमा स्पष्टता र स्थायित्वको प्रत्याभूति दिनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिलाई पुनर्निर्माणमार्फत समाधान गर्ने हो भने त्यसले मुलुकमा लगानीको वातावरण विस्तार गर्न सहयोग पु¥याउँछ । “पुनर्निर्माणमा लगानी बढ्दा आर्थिक गतिविधि चलायमान हुन्छ,” उनले भने। विसं २०७२ को विनाशकारी भूकम्पपछिको अनुभव स्मरण गर्दै प्राडा ज्ञवालीले पुनर्निर्माणका कारण त्यसपछिका वर्षहरूमा आर्थिक वृद्धि अपेक्षाकृत तीब्र भएको उदाहरण दिए ।
पछिल्लो समय मुलुकमा सरकारी लगानीको अनुपात केही सुधार हुँदै गएको भए पनि निजी क्षेत्रको लगानी भने अझै अपेक्षाअनुसार बढ्न नसकेको उनले उल्लेख गरे । प्राडा ज्ञवालीले जेनजी आन्दोलनका क्रममा उद्योग–व्यवसायीका क्षेत्रमा भएको क्षति र परेको असरले लगानीकर्ताको मनोबल कमजोर भएको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नेगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नयाँ नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
“अहिले निजी क्षेत्रलाई सबैभन्दा आवश्यक कुरा भनेको विश्वास र स्थिर वातावरण हो,” उनले भने, “सरकारले लगानीकर्तालाई स्पष्ट रूपमा आश्वस्त पार्नुपर्छ कि आर्थिक स्थायित्व कायम गरिन्छ र आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराईन्छ ।”
सरकारले नीतिगत स्थायित्व र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन र रोजगारी सिर्जनामा सक्रिय भूमिका खेल्नुपर्ने उनको सुभाव छ । दुबै पक्षको सहकार्यबाट मात्रै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने उनको धारणा छ । प्राडा ज्ञवालीले नयाँ सरकारले नीतिगत स्थायित्व, पुनर्निर्माण र निजी क्षेत्रको लगानी प्रवद्र्धनलाई प्राथमिकतामा राखे मुलुकको आर्थिक वृद्धि र समृद्धिको मार्ग बलियो बन्ने विश्वास व्यक्त गरे ।
