काबुलस्थित अस्पतालमा पाकिस्तानको आक्रमण, चार सय जनाको मृत्यु

काबुल । अफगानिस्तानले काबुलस्थित एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४०० जनाको मृत्यु भएको आरोप लगाएको छ । तर पाकिस्तानले उक्त दाबी अस्वीकार गर्दै आफूले केवल सैन्य संरचनामाथि मात्र लक्षित कारबाही गरेको जनाएको छ।

अफगान तालिबान सरकारका अनुसार काबुलको ओमर एडिक्शन ट्रीटमेन्ट अस्पतालमा सोमबार राति करिब ९ बजे आक्रमण भएको हो। करिब २,००० शैय्याको उक्त अस्पतालमा लागुऔषध प्रयोगकर्ताको उपचार हुँदै आएको थियो। आक्रमणपछि अस्पतालका ठूला भागहरू ध्वस्त भएको र आगलागीसमेत भएको जनाइएको छ।

तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतका अनुसार हालसम्म ४०० जनाको मृत्यु भएको छ भने करिब २५० जना घाइते भएका छन्। घटनास्थलमा उद्धार कार्य जारी रहेको र आगो नियन्त्रणका प्रयास भइरहेको उनले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूले भग्नावशेषबीच आगो निभाउन संघर्ष गरिरहेका दमकलकर्मीहरूको दृश्य प्रसारण गरेका छन्। अस्पतालका एक सुरक्षा गार्डले आक्रमणअघि आकाशमा लडाकु विमानहरू गस्ती गरिरहेको र त्यसपछि बम खसालिएको बताएका छन्।

अफगान पक्षले मृतक तथा घाइते सबै सर्वसाधारण नागरिक रहेको दाबी गरेको छ। अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले उक्त आक्रमणलाई मानवताविरुद्धको अपराध भन्दै निन्दा गरेका छन्।

यता पाकिस्तानले भने आरोपलाई  आधारहीन भन्दै खारेज गरेको छ। पाकिस्तानको सूचना मन्त्रालयले काबुल र नंगरहारमा रहेका आतंकवादी पूर्वाधार र सैन्य लक्ष्यहरू मात्र निशाना बनाइएको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमण सटीक र सावधानीपूर्वक गरिएको तथा सर्वसाधारणमा क्षति नपुग्ने सुनिश्चित गरिएको दाबी गरिएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ताले काबुलमा कुनै पनि अस्पताललाई लक्षित नगरिएको स्पष्ट पारेका छन्। यसैबीच, दुवै देशबीच सीमा क्षेत्रमा जारी तनाव बढ्दो क्रममा छ। केही घण्टाअघि मात्र सीमामा भएको झडपमा अफगानिस्तानतर्फ चार जनाको मृत्यु भएको जनाइएको थियो। पछिल्ला वर्षहरूकै सबैभन्दा घातक द्वन्द्व तेस्रो सातामा प्रवेश गरेको बताइएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पनि अफगानिस्तानलाई आतंकवाद नियन्त्रणका प्रयास तीव्र बनाउन आह्वान गरेको छ। पाकिस्तानले अफगानिस्तानमाथि तेहरिक–ए–तालिबान पाकिस्तानलगायतका समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने काबुलले ती आरोप अस्वीकार गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *