काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले कुवेतका परराष्ट्रमन्त्री शेख जर्राह जाबेर अल–अहमद अल–सबाहसँग टेलिफोन वार्ता गरेका छन् ।
सोमबार भएको वार्तामा पश्चिम एसिया क्षेत्रमा विकसित भइरहेको पछिल्लो परिस्थितिबारे छलफल भएको छ ।
वार्ताका क्रममा परराष्ट्रमन्त्री शर्माले कुवेतको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ बसोबास गर्ने नेपाली समुदायसहित सबै बासिन्दाको सुरक्षा सुनिश्चित गर्न कुवेत सरकारले गरेको प्रयासको सराहना गरेका छन् ।
कुवेती परराष्ट्रमन्त्री अल–सबाहले जारी युद्धले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको मानवीय कानुनको उल्लंघन गरेको उल्लेख गर्दै कुवेतमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दुवै पक्षले संयम, संवाद र कूटनीतिक पहलमार्फत क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नुपर्नेमा जोड दिँदै तनाव छिट्टै कम हुने आशा व्यक्त गरेका छन् ।
