काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेको भन्दै सर्वत्र आलोचना भएको छ ।
विगतका सहकर्मीदेखि जेनजी अगुवाहरुले प्रधानमन्त्रीको कदमको विरोध गरेका हुन् । पूर्वशिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् । सामाजिक संजालमार्फत पुनले प्रधानन्त्रीको नियुक्ति प्रक्रिया गलत भएकाले पद स्वीकार नगर्न श्रेष्ठलाई आग्रह गरेका हुन् । उनले प्रधानमन्त्रीको इज्जत धुलोमा नमिसाउन पनि श्रेष्ठले त्यो पद लिन नहुने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकिय सचिव आदर्श श्रेष्ठ लाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो । आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातीर त्यो पद नलिउ । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ । यस्तै किसिमको नातावाद, चाकरीवाज, कृपावाद, चाप्लुसीवादले पुराना दलहरु खतम भए । यही पाराले काम गर्ने हो भने नयाँ दलहरु पनि कालान्तरमा मासिन्छन् । होसियार गर्ने म छु । त्यो नियुक्ति अव आउने सरकारले बुद्धि पुर्याएर गरोस् ।’
त्यस्तै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि प्रधानमन्त्रीको कदमप्रति आपत्ति जनाएकी छन् । उनले भनेकी छन्, ‘अरूले गरे—नातावाद, कृपावाद, नेपोबेबी, आफूले गरे- ‘योगदानको कदर’, अरूले गरे -भागबन्डा, आफूले गरे-‘जिम्मेवारी बाँडफाँट’, अरूले गरे -‘नुनको सोझो’, ‘सेटिङ’ आफूले गरे -‘पारस्परिक सम्बन्ध’, अरूले गरे- ‘जे कुरामा पनि विरोध’, आफूले गरे -‘मिहीन/रचनात्मक खबरदारी’, अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन ? यो निर्णय साँच्चै कसको हो-निर्णय गर्नेको कि गराइनेको?’
त्यसैगरी जेनजी अगुवा रक्षा बमले पनि प्रधानमन्त्रीको कदमको विरोध गरेकी छन् । उलने सडकमा सुशासनका लागि, नातावाद र कृपावादकोविरुद्ध नाराबाजी भएको कुरा नबिर्सन आग्रह गरेकी छन् ।
उनी सामाजिक संजालमा लेख्छिन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादकोविरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए । केका लागि थाहा छ ? यो देशले, विस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि । प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद, विभाग वा समितीका कुर्सीहरू बाँडफाँट गर्नका लागि होइन । होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ । सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन।’
त्यस्तै अर्की जेनजी अगुवा तनुजा पाण्डेले प्रधानमन्त्रीे उल्लु बनाएको नियुक्तिमाथि प्रश्न उठाएकी छन् । उनले भनेकी छन्, ‘जनतालाई उल्लु बनाएर पुगेन हजुर ? प्रधानमन्त्रीको स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नै पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाउने प्रयास गरेको घटना त्यति पुरानो पनि होइन, त्यो पनि युवा आन्दोलन र ‘नयाँ राजनीतिक संस्कार’ को चर्चा चलिरहेको समयमा । तर आज त्यही व्यक्ति प्रधानमन्त्रीका स्वकीय सचिव बनेर अन्ततः प्रकृति संरक्षण कोष जस्तो संस्थामा पठाइने सिफारिसमा पुग्छन् । ‘आसेपासेवाद’ बाट माथि उठ्ने कुरा गर्नेहरूकै वरिपरि यस्तो घटनाहरू बारम्बार दोहोरिनु आफैंमा व्यंग्य जस्तै लाग्छ। ‘आदर्श’ प्रकरणले फेरि एकपटक देखायो, यहाँ समस्या पात्रहरूको मात्र होइन, संस्कृतिको हो । अलिकति लाज पनि मान्नुहोस्, अलिकति डर पनि मान्नुहोस् । सहिदको रगतको मजाक नगर्नुस्। देश र सहिदमाथि मजाक गरिन्छ भने… मजाक गर्नेहरूको अवस्था कस्तो हुन्छ भन्ने कुरा हरेक दशकमा नेपालमा देख्न सकिन्छ। घिनलाग्दो राजनीति नगर्नुस्। नत्र सत्ताको स्वाद र पहुँचको खेलले यहाँ सबैलाई सडकमा झारेको छ, र तपाईं अर्को पात्र नबन्नु। जनताको आशा, पीडा र बलिदानलाई आफ्नै स्वार्थको खेल बनाउने, शहिदको रगतलाई सत्तामा चढ्ने सिँढी बनाउने गद्दारहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन ।’
प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठलाई मनोनीत गरेकी थिइन् । उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा श्रेष्ठलाई मनोनित गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ । तर प्रधानमन्त्रीको यो कदमको सर्वत्र विरोध भइरहेको छ ।
