अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची । डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको जानकारी दिए । डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली रहने व्यवस्था मिलाइएको छ । टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ ।

सूचना अधिकारी खड्काका अनुसार १२ सदस्यीय टोलीलाई अगामी जेठ मसान्तसम्म जिल्लाभर परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ । डढेलोको जोखिम बढी हुने समयलाई लक्षित गरी टोलीलाई विभिन्न वन क्षेत्रमा निगरानी तथा तत्काल नियन्त्रणका लागि खटाइने उनले जानकारी दिए ।

सप्ताहको सुरुवातसँगै सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा वरिष्ठ वन अधिकृत सन्तबहादुर थिंग, रामबहादुर घलान, भू तथा जलाधार कार्यालयका प्रमुख राकेश कुँवर, अधिकृत अरुण आचार्यलगायत स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा वन डढेलोको कारण, यसको प्रभाव तथा रोकथामका उपायबारे छलफल गरिएको थियो । सहभागीले वन डढेलो नियन्त्रणमा सरकारी निकायसँगै स्थानीय समुदायको सक्रिय भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।

यसै अवसरमा वन डढेलोसम्बन्धी तथ्याङ्क सङ्कलन र सूचना व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ डिजिटल प्रणाली पनि सञ्चालनमा ल्याइएको छ । जिल्लाभित्र रहेका ६ वटै सव डिभिजन वन कार्यालयले वन डढेलोसम्बन्धी घटना भएको २४ घण्टाभित्र अनलाइन प्रणालीमा प्रविष्टि गर्ने व्यवस्था मिलाइएको छ ।

‘वन डढेलो रिपोर्टिङ २०८२/०८३’ नामक अनलाइन सिट सञ्चालनमा ल्याइएपछि डढेलोसम्बन्धी तथ्याङ्क समयमै सङ्कलन हुने र आवश्यक निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ । वन संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण महत्वपूर्ण हुने भएकाले सम्बन्धित निकायले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । वन क्षेत्रमा डढेलो देखिएमा तत्काल जानकारी गराएर नियन्त्रणमा सहयोग गर्न स्थानीयवासीसँग अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *