कास्की । पोखरामा जारी पिएम कप क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्की फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आइतबार खेलमा अर्जुन कुमालको शतकीय पारिको मद्दतमा तनहुँलाई १८७ रनले पराजित गर्दै कास्की उपाधि नजिक पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको कास्कीले निर्धारित ४५ ओभरमा ६ विकेट गुमाएर २९५ रनको योगफल तयार गरेको थियो । कास्कीका लागि अर्जुन कुमालले ११८ बलमा १४ चौका र एक छक्काको मद्दतमा १०३ रनको शतकीय पारि खेले । मुस्कान थापाले ७७ बलमा ५९ रन बनाए भने सिब्रिन श्रेष्ठले ३२ बलमा ४३ रनको आक्रामक पारि खेले । कप्तान विपिन खत्रीले ११ बलमा दुई छक्का प्रहार गर्दै २१ रन जोडे ।
बलिङतर्फ तनहुँका रमेश शाह र बिरु बादलले दुई/दुई विकेट तथा वंश क्षेत्री र समीर कँडेलले एक÷एक विकेट लिए ।
जितका लागि २९६ रनको लक्ष्य पछ्याएको तनहुँको टोलीले ३० ओभरमा १०८ रन मात्र बनाउन सक्यो । तनहुँका कप्तान समीर कँडेलले ७५ बलमा ६४ रन बनाए । त्यस्तै देव राईले २५ रन बनाए ।
बलिङतर्फ कास्कीका लागि कप्तान विपिन खत्री र विश्वास पराजुलीले तीन/तीन, कृष्ण पौडेलले दुई तथा सुभाष भण्डारीले एक विकेट लिए । प्रतियोगिताअन्तर्गत सोमबार दोस्रो सेमिफाइनल खेल स्याङ्जा र नवलपुरबीच हुने आयोजक प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
गत फागुन २७ गतेदेखि सुरु भएको प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वतले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रदर्शनका आधारमा उत्कृष्ट २४ खेलाडी छनोट गरी बन्द प्रशिक्षण सञ्चालन गरिने आयोजकले जनाएको छ ।
