काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पराजयका कारणहरुसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन परिपत्र गरेको छ । पार्टीका मातहत समिति र सबै उम्मेदवारलार्ई फागुन २१ गतेको निर्वाचनपछि प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी विस्तृत समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले पत्राचार गरेको हो ।
कांग्रेस महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन चैत्र ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।
पार्टी सदस्यहरूको व्यापक सहयोग, साथ र समर्पण हुँदाहुदै पनि निर्वाचन परिणाम पार्टीले अपेक्षा गरे अनुसार आउन नसकेको यथार्थ सबैका लागि आत्मसमीक्षाको विषय बनेको कांग्रेसले जनाएको छ ।
साथै नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (३) बमोजिम जिल्ला अनुशासन समिति तथा सोही धाराको उपधारा (५) बमोजिम प्रदेश अनुशासन समिति गठन भएका जिल्लाहरूले अनुशासन समितिको संयोजक र सदस्यहरूको नाम, सम्पर्क नम्बर यथाशीघ्र पार्टी केन्द्रीय कार्यालयमा पठाउनु अनुरोध गरेको छ । ।

