काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका मथिल्लो तहका नेताहरूबाट आफूलगायत नेताहरुकाबारेमा अनर्गल लान्छना लगाउने काम भएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार बिहान सामाजिक संजालमार्फत उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन गम्भीर समीक्षा जरुरी भएको बताएका हुन् । उनले शरू शर्मा नामको नक्कली फेसबुक आईडी यो काममा निक्कै सक्रिय रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहनु भएको छ । सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नु भएन । उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ । यो समय हामी सबैका लागि पनि शोकको घडी हो । यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ । यस बीचमा पार्टीका मथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भैरहेको छ । शरू शर्मा नामको नक्कली फेसबुक आईडी यो काममा निक्कै सक्रिय छ ।’
उनले पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुनः आर्जन गर्नु हामी सबै नेकपा एमालेहरूका लागि प्राथमिक महत्वको कार्यभार हो । यसका लागि उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रियामार्फÞत तथ्य र तर्क सहित छलफल र बहस गर्न जरूरी छ ।Misinformation, Disinformation / Hait speech बन्द गरौँ । फेरि पनि भन्छु आत्मभत्सर्ना होइन जमेर आत्मसमिक्षा गरौँ ।’
