काठमाडौँ । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी अभियन्ताहरूले खबरदारी गर्ने भएका छन् । जेनजी अभियन्ताहरूले आज दिउँसो एक बजे काठमाडौँको माइतीघर मण्डलामा भेला भएर खबरदारी कार्यक्रम गर्ने भएका हुन् । उनीहरूले सामाजिक सन्जालमार्फत पनि ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भनेर खबरदारी गरिरहेका छन् ।
आज भौतिकरूपमा पनि खबरदारी गर्ने जेनजी अभियन्ता जस्मिन ओझाले जानकारी दिएकी छन् । सरकारले जेनजी आन्दोनलको अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन बुझ्दै सरकारले कार्यान्वयन गर्ने बताएपनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।
प्रतिवदेन सार्वजनिक गर्न सरकारलाई सर्बत्र दबाब परेको छ । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजिपी चन्द्रकुबेर खापुङलगायतलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरिएको बताइएको छ ।
