यूएईमा मध्यपूर्वको युद्धकाबारेमा भ्रामक भिडियो पोस्ट गरेको आरोपमा एक नेपालीसहित १० जना पक्राउ

अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) मा मध्यपूर्वमा जारी युद्धकाबारेमा अफवाह फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ परेका छन् ।

महान्यायाधिवक्ता हमिद सेफ अस साम्सीले सामाजिक सञ्जालमा भ्रामक तथा एआई भिडियो सार्वजनिक गरेको आरोपमा विभिन्न देशका १० जनालाई पक्राउ गर्न आदेश दिएपछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इजिप्ट, बंगलादेश, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, भारत, क्यामरुन र नेपाली नागरिक रहेका गल्फन्यूजले जनाएको छ ।

मध्यपूर्वको युद्धकाबारेमा अनलाइनमा फैलाइएको सामग्रीबारे अनुसन्धानपछि उनीहरूलाई द्रुत सुनुवाइका लागि अदालतमा पठाइएको यूएईका अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार डिजिटल प्लेटफर्महरूको निगरानीका क्रममा केही व्यक्तिहरूले घटनालाई दुरुपयोग गर्दै जनतालाई भ्रमित पार्ने र राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था तथा स्थायित्व कमजोर पार्ने उद्देश्यले गलत सूचना फैलाएको पाइएको थियो ।

अनुसन्धानमा अभियुक्तहरूले आक्रमणलाई वायु प्रतिरक्षा प्रणालीले अवरोध गरेको वास्तविक दृश्य देखाउने भिडियोहरू पोस्ट गरेको पाइएको छ । केही क्लिपमा जमिनमा खसेका प्रोजेक्टाइलहरू तथा घटनास्थल हेर्न भेला भएका भीड पनि देखाइएको थियो ।

यसका साथै उनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी बनाइएका नक्कली भिडियोहरू पनि प्रसारित गरेका थिए, जसमा यूएईका विभिन्न क्षेत्रमा विस्फोट, महत्वपूर्ण स्थलहरूमा आक्रमण तथा ठूलो आगलागी भएको झुटो दृश्य देखाइएको थियो । सरकारी वकिल कार्यालयले अभियुक्तहरूलाई सोधपुछ सुरु गरेको र कानुनी प्रक्रिया पूरा नभएसम्म उनीहरूलाई हिरासतमा राख्न आदेश दिएको छ ।

महान्यायाधिवक्ता अल साम्सीका अनुसार यस्तो कार्य आपराधिक अपराध मानिन्छ, जसका लागि कम्तीमा एक वर्ष कैद र न्यूनतम १ लाख दिरम जरिवानाको व्यवस्था छ। उनले राष्ट्रिय सुरक्षा वा सार्वजनिक व्यवस्था प्रभावित पार्ने उद्देश्यले साइबरस्पेसमार्फत भ्रामक सूचना फैलाउने प्रयास सह्य नहुने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *