काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र अनुभव मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । गैरआवासीय नेपाली सङ्घको १२औँ विश्व सम्मेलनको शनिबार काठमाडौँमा शुभारम्भ गर्दै उनले र प्रवासी नेपालीलाई मुलुकको आर्थिक, सामाजिक विकासमा साझेदार हुन आह्वान गरे ।
प्रविधिका कारण विकास तीव्र रुपमा अगाडि बढिरहेको बताउँदै उनले अन्तर्राष्ट्रिय तहमा शक्ति सन्तुलनमा फेरबदल आएकाले देशको भूराजनीतिक सम्बन्ध तथा सौम्य शक्ति वृद्धि गर्न सङ्घले सेतुको काम गर्नुपर्नेमा जोड दिए ।
नेपालका सांस्कृतिक दूतका रुपमा गैरआवासीय नेपालीले पारस्परिक विश्वास अगाडि बढाएर नेपाली माटोमा योगदान पुर्याउने विचार व्यक्त गर्दै उनले सङ्घको संरक्षण तथा प्रवद्र्धनका लागि सरकारले आवश्यक ऐन परिमार्जन गर्ने जानकारी दिए ।
फरक प्रसङ्गमा उनले अन्तर्राष्ट्रिय तहमा भएका द्वन्द्वका कारण त्यहाँस्थित नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै आपतकालीन अवस्थामा उनीहरुलाई सहयोगका लागि परराष्ट्र मन्त्रालयका साथै सम्बन्धित मुलुकस्थित नेपाली नियोगमार्फत उद्धार उडान पनि सञ्चालन गरेको जानकारी दिए । उनले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
उनले सम्भावित आपतकालीन अवस्थामा नागरिकका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ सञ्चालनमा ल्याइसकेको जानकारी दिए ।
उनले भने, ‘यस परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय र समन्वयात्मक कार्यहरू अघि बढाइएको छ । सम्भावित आपतकालीन अवस्थामा नागरिकको समस्या सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ सञ्चालनमा ल्याएको छ । यस कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिकहरू तथा नेपालमा रहनुभएका उहाँका परिवार र आफन्तहरूको बीचमा परराष्ट्र मन्त्रालयले पुनः सेतुको काम गर्नेछ ।’
सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले नेपालमा लगानी भित्राउनेतर्फ आफूहरू क्रियाशील रहेको बताउँदै गैरआवासीय नेपालीको अधिकार संरक्षण गर्न संस्था प्रतिबद्ध रहेको दोहोर्याए ।
