निर्वाचन परिणाम कम्युनिष्ट आन्दोलनको मात्रै होइन, सिङ्गै लोकतान्त्रिक आन्दोलनमाथिकै सङ्कट हो

काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले चुनावमा बेहोर्नु परेको ठूलो धक्काले इतिहासकै कठिनतम बिन्दुमा आइपुगेको औल्याएका छन् । शनिबार सामाजिक संजालमार्फत ज्ञवालीले चुनावमा एमालेले भोगेको धक्का गम्भीर भएको उल्लेख गरेका हुन्।

उनले भनेका छन्, ‘हामीले बेहोरेको धक्का इतिहासकै गम्भीरतम मध्येको हो।’ यस पटकको चुनावमा एकदमै उत्कृष्ट नतिजाको अपेक्षा नगरेको पनि उनले खुलाएका छन्। उनले भनेका छन्, ‘एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौँ, समय प्रतिकूल छ भन्ने हामीलाई थाहा थियो। तर यस्तो धक्काको अनुमान भने थिएन ।’

यस्तो छ ज्ञवालीको भनाई

प्रिय कमरेडहरु,
निर्वाचन परिणामसँगै नेकपा (एमाले) पङ्क्तिमा एकखालको अन्यौल र नैराश्य देखा परेको छ । प्रतिकूल परिणामका बिचमा यस्ता प्रतिक्रिया अस्वाभाविक होइनन् । हामीले व्यहोरेको धक्का इतिहासकै गंभीरतम मध्येको हो । त्यसो त, हामी असाध्यै असहज अवस्थामा निर्वाचनमा सहभागी भएका थियौँ । जुन पार्टीका ६४ भन्दा बढी कार्यालय ध्वस्त पारिएका थिए, जसका २ सय भन्दा बढी नेता कार्यकर्ताका घर खरानी बनाइएका थिए, जसका अध्यक्षलाई स्थान हद तोकेर केही दिन अगाडिसम्म काठमाडौँमै खुम्च्चाइएको थियो र जसका कार्यक्रमहरुमा बारम्बार धम्की, अवरोध र आक्रमण गरिएका थिए– त्यस पार्टीले निर्वाचनको सामना गर्नु आफैमा अदम्य साहस, लोकतन्त्रप्रतिको अविचलित निष्ठा र जनतामाथिको भरोसाको दृष्टान्त थियो ।
एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौँ, समय प्रतिकूल छ भन्ने हामीलाई थाहा थियो । तर यस्तो धक्काको अनुमान भने थिएन । फेरि पनि भन्नैपर्छ– हामी इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ । यसका धेरै कारणहरु छन् । आन्तरिक छन् । वाह्य पनि छन् ।

ती मध्ये कति समयमै ध्यान दिन या सच्याउने सकिने खालका थिए होलान् । कति भने काबु बाहिरका, शक्ति सन्तुलनले नभ्याउने र हामीले अनुमानै गर्न नसक्ने खालका थिए । कतिपय नीतिगत विषय होलान् । कतिपय संरचनागत प्रश्न छन् । शैलीगत कारणहरु छन् । नेतृत्व पङ्क्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण सिर्जित पनि छन् ।

यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ । हुन्छ । यस्तो समीक्षाले मात्रै यस कठिन समयबाट अगाडि लैजान हामीलाई मार्गदर्शन गर्ने छ । समीक्षा गरिएन, ‘यो यस्तै हो‘ भनियो या अरुलाई मात्रै दोषारोपण गरियो भने सङ्कट झनै गहिरिँदै जानेछ । तर वृहत्तर अर्थमा यो कम्युनिष्ट आन्दोलनको मात्रै होइन, सिङ्गै लोकतान्त्रिक आन्दोलनमाथिकै सङ्कट हो ।

सुधारका विभिन्न विकल्प (नेतृत्व फेरबदल, पार्टीको नाम परिवर्तन, ठुलाठुला मोर्चाबन्दी, विद्रोह मार्फत् नयाँ पार्टी निर्माण आदि) रोजेका शक्तिहरुले पनि नराम्रो धक्का खाएका छन् । त्यसैले वर्तमान परिणामलाई आन्दोलनको समष्टिगत र फराकिलो परिदृश्यमा राखेर विवेचना गरिनु पर्छ ठान्छु । यस्तो अवस्थामा हामी ‘इमोशनल‘ भन्दा बढी ‘र्यासनल‘ हुनु जरुरी हुन्छ । हामीले स्वीकार्नै पर्छ– हामीले स्थापित गर्न चाहेको सत्यलाई स्थापित गर्न सकिएन ।
अहिले मतदाताको बहुसङ्ख्याले हामीले असत्य र भ्रम भनेको विषयलाई सत्य ठहर् याइदियो । नयाँ पुस्तासँग हाम्रो संवाद हुन सकेन, विश्वास स्थापित हुन सकेन । यस कुराको परीक्षण हुन, भ्रमको तुवाँलो हट्न र सत्य स्थापित हुन समय लाग्ने भयो । हामीले धैर्य गर्नुपर्छ । तर धैर्य मात्रै गरेर पुग्दैन । सत्य स्थापित गर्न कष्टसाध्य प्रयत्न गरिरहनु पर्छ । त्यतिञ्जेल हामी अडिइरहन सक्नु पर्छ । बालकृष्ण समको कविताको यस अंशले भने जस्तै– पृथ्वीभित्र अडे मात्र पुग्यो शिशिरमा जरा पालुवा त्यसमा अर्कै त्यो वसन्त पलाउला ।

एउटा ऐतिहासिक आवश्यकताले नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको हो । यसका जरा नेपाली समाजमा गहिरो गरी गडेका छन् । राष्ट्रिय स्वाधीनता र स्वाभिमान, जनमुखी लोकतन्त्र, सामाजिक न्याय र सुरक्षा, समृद्धि र समानता जस्ता यसले उठाएका झण्डाहरु कहिल्यै लत्रिने छैनन् । ढल्नु भनेको सकिनु होइन । फेरि उठ्नका लागि तयारी थाल्नु हो । आउनुहोस्– फेरि उठ्ने तयारी थालौँ । यसका लागि समस्या र सङ्कटलाई सामूहिकतामा बोध गरौँ । निर्मम आत्मसमीक्षा गरौँ र समीक्षाका निष्कर्षका आधारमा उचित निर्णय गरौँ । सामूहिक निर्णय र जवाफदेहितालाई स्थापित गरौँ । आन्दोलनको हित र भविष्य नै सर्वोपरि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *