क्रोकस हमलाका दोषीलाई आजीवन जेल सजाय

मस्को । सन् २०२४ मा मस्कोस्थित क्रोकस सिटी कन्सर्ट हलमा भएको घातक आतंकवादी आक्रमणका अभियुक्तहरूलाई रुसी अदालतले कडा सजाय सुनाएको छ । बिहीबार भएको फैसलामा चार मुख्य बन्दुकधारीसहित १५ जनालाई आजीवन कारावास सजाय दिइएको छ । उक्त आक्रमणमा १५० जनाको ज्यान गएको थियो । यसलाई दुई दशकभन्दा बढी अवधिमा रुसमा भएको सबैभन्दा भीषण हमला मानिन्छ ।

मार्च २२, २०२४ मा भएको उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस)ले लिएको थियो । फैसला सुनाउँदा केही पीडितका आफन्तहरू मस्कोस्थित सैन्य अदालतमा उपस्थित थिए ।

न्यायाधीशले ताजिक नागरिक सम्सिडिन फरिदुनी, दलेर्दजोन मिर्जोयेभ, मखमद्सोबीर फायजोभ र सैदाक्रामी राचाबोलिजोडालाई आजीवन कारावास सजाय सुनाएका थिए । अभियोजन पक्षका अनुसार, ती चारै बन्दुकधारीले कन्सर्ट सुरु हुनुअघि हलभित्र अन्धाधुन्ध गोली चलाएपछि भवनमा आगजनी गरेका थिए, जसका कारण धेरै मानिसहरू भित्रै फसेका थिए ।

उक्त घटनामा ६०० भन्दा बढी मानिस घाइते भएका थिए भने मृतकमध्ये ६ बालबालिका थिए । आक्रमण सोभियतकालीन रक ब्यान्ड ‘पिकनिक’को कन्सर्ट सुरु हुनुअघि भएको थियो ।

अदालतले अन्य ११ जनालाई पनि सहयोगीको भूमिका खेलेको र आतंकवादी सम्बन्ध राखेको आरोपमा आजीवन कारावास सजाय सुनाएको छ । साथै, एक पिता र उनका दुई छोरासहित थप चारजनालाई ती अभियुक्तहरूसँग सम्बन्ध राखेको अभियोगमा १९ देखि २२ वर्षसम्मको कैद सजाय सुनाइएको छ ।

मस्कोको उपनगरमा भएको यो हमलालाई सन् २००४ मा भएको बेसलान विद्यालय घेराबन्दीपछि रुसमा भएको सबैभन्दा ठूलो आतंकवादी घटना मानिन्छ ।

घटनाको दोस्रो वार्षिकी नजिकिँदै गर्दा फैसला आएको हो । आक्रमणका बेला कन्सर्टको भिडियो खिचिरहेका इभान पोमोरिनले अदालत परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पीडित परिवारका लागि घटना अझै ‘हिजो जस्तै ताजा’ रहेको बताए ।

यस घटनापछि रुसमा आप्रवासीसम्बन्धी नीति अझ कडा बनाइएको छ । सरकारले मध्य एसियाली आप्रवासीहरूलाई लक्षित गर्दै कडा कानुनी कदम र राजनीतिक बयानबाजी बढाएको छ, जसले मस्कोसँग निकट सम्बन्ध राख्ने केही मध्य एसियाली देशहरूमा असन्तोष पैदा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *