यसवर्ष सिरहामा आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन् ।

धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ । अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र महासेठका अनुसार आँप प्रायः एक वर्ष बिराएर फल्ने भएकाले यसवर्ष फल्ने चक्रमा परेकाले बोटमा अत्यधिक मञ्जरी लागेको हो ।

‘आँपका बोटमा राम्रो मञ्जरी देखिएको छ । यसवर्ष उत्पादन बढ्ने सङ्केत गरेको छ । मञ्जरी जोगाउन किसानलाई प्राविधिक सहयोग उपलब्ध गराइरहेका छौँ,’ उनले भने।

उनका अनुसार मञ्जरी जोगाउन किसानले एक पटक औषधि छरिसकेका छन् भने चिचिला लागेपछि फेरि औषधि छर्ने तयारी गरिरहेका छन् । जिल्लाका १७ वटै पालिकाका कृषि शाखासँग समन्वय गरेर किसानलाई आवश्यक प्राविधिक सहयोग प्रदान गरिँदै आएको उनले बताए।

सिरहामा पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ पर्ने मिर्चैया, गोलबजार, धनगढीमाई र लहान नगरपालिकामा आँपखेती हुने गरेको छ । आँप खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसान पछिल्लो समय यसतर्फ आकर्षित हुँदै गएका छन् ।

धनगढीमाई नगरपालिका– १३ का किसान रामनारायण यादवले यसवर्ष आँपबाट राम्रो उत्पादन हुने अपेक्षा रहेको बताए।

उनले भने, ‘बगैँचामा यसवर्ष धेरै मञ्जरी लागेको छ । समय–समयमा औषधि छर्ने र बोटको स्याहार–सम्भार गर्ने काम गरिरहेका छौँ । मौसम अनुकूल रहे राम्रो उत्पादन हुने आशा छ ।’

अहिलेसम्म वर्षा नभएकाले आँपमा मधुवा रोग नदेखिएको स्थानीय कृषि प्राविधिकले बताएका छन् । यसवर्ष आँप ‘ब्रान्डिङ’ गरी बाहिरी बजारमा पठाउने तथा बजार व्यवस्थापनका लागि कृषि ज्ञान केन्द्रले तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *