बीबीसी । इजरायली सेनाले लेबननस्थित हेजबुल्लाहका ठेगानाहरूमा नयाँ चरणका हमला सुरु गरेसँगै खाडी क्षेत्रमा पानीजहाजमाथिका हमलाका घटना पनि बढ्दै गएका छन् ।
बासरा बन्दरगाहनजिकै पर्सिअन गल्फमा दुई विदेशी तेल ट्याङ्करहरूमा विस्फोट भएका खबरहरू आइरहँदा इराकी अधिकारीहरूले उक्त घटनामा एक जना मारिएको जनाएका छन्। केहीको उद्धार गरिएको र खोजीकार्य जारी रहेको बताइएको छ ।
इराकी प्रधानमन्त्री मोहम्मद शिआ अल–सुदानीले इरानी राष्ट्रपति मसूद पेजेस्किआनलाई इराकमाथिको आक्रमण अस्वीकार्य भएको बताएका छन्। साथै उनले आफ्नो सरकारले कुनै पनि ‘पक्ष वा व्यक्तिलाई’ इरानमाथि आक्रमणका निम्ति आफ्नो क्षेत्र प्रयोग गर्न नदिने पनि भनेका छन् ।
बुधवार स्ट्रेट अफ हर्मुजमा अज्ञात स्रोतबाट भएको आक्रमणका कारण तीन व्यावसायिक जहाजहरू क्षतिग्रस्त भएका थिए । त्यसमा भारत आउँदै गरेको जहाज पनि रहेको भारतीय अधिकारीहरूले जनाएका छन्। नयाँ दिल्लीले व्यावसायिक जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ ।
इजरायलले लेबननमा बुधबारबाट सुरु भएको नयाँ चरणको हमलालाई आफ्नो देशमाथि गरिएको क्षेप्यास्त्र प्रहारको जबाफ भनेको छ । त्यस्तै यूएईमा अधिकारीहरूले इरानद्वारा दिइएका क्षेप्यास्त्र हमलाका चेतावनीबीच प्रतिकारात्मक कदम चालिरहेका छन्।
