-कल्याण गुरुङ ।
नेपालमा अब बन्ने नयाँ सरकारले ‘वातावरण तथा जलवायू परिवर्तन सरोकारका विषयहरु’लाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । पृथ्वी जोगाउन, प्रकृति जोगाउन, प्राकृतिक श्रोतहरु जोगाउन, मानव सभ्यता जोगाउन, प्राणीहरु जोगाउन तथा पशु, पन्छी, जीवहरु र बोट विरुवाहरु जोगाउनको लागि ‘वातावरण तथा जलवायू परिवर्तन सरोकारका विषयहरु’मा गंभीरतापूर्वक कार्यहरु गर्नु आवश्यक छ ।
यसका लागि नेपालमा ठोस नीतिहरु र कानूनहरुको निर्माण र त्यसको कठोर कार्यान्वयनको तत्काल आवश्यकता छ ।
१. वनको संरक्षण र संवद्र्धन गर्नु पर्छ । प्राथमिकताका साथ निरन्तररुपमा नियमित वृक्षारोपण गर्नु पर्दछ ।
२. नदी, ताल, पोखरी, खोला, खोल्सा, कुवा, ईनार, ढुंगे धारा, झरना, जरुवा, नहर र कुलो लगायतका पानीको श्रोतहरुको संरक्षण गर्नुपर्छ ।
३. सीमसार क्षेत्रहरुको तत्काल अनिवार्य संरक्षण र संवद्र्धन गर्नुपर्छ ।
४. आरक्ष तथा निकुन्जहरुको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ ।
५. हिमालयमा हिउँको संरक्षण गर्नु पर्दछ । पृथ्वीको तापक्रम बढन नदिन, हिउँ छिटो पग्लिन नदिन, समुन्द्रमा पानीको सतह बढ्न नदिन र जंगलहरुमा अनियन्त्रित डढेलो लाग्न नदिन तत्काल पर्याप्त कार्यहरु गर्नु पर्दछ ।
६. प्लास्टिकहरु र प्लास्टिकजन्य पदार्थहरुको प्रयोग गर्न तत्काल रोक लगाउनु पर्छ ।
७. वायू प्रदुषणलाई कम गर्नको लागि गाडीहरु, ईटा उद्योगहरु र अन्य उद्योगहरुबाट निष्कने कालो धुँवाको मुस्लोहरु र उद्योगहरुबाट नदीहरुमा फ्यालिने हानीकारक केमिकलहरुलाई कडा कानून बनाई तत्काल रोक्नुपर्छ र नियन्त्रण र नियमन गर्नुपर्छ।
८. ध्वनी प्रदुषणलाई तत्काल रोक्नुपर्छ ।
९. अस्पताल, होटल र घरहरुबाट निस्कने फोहोरको र सबै किसिमका फोहरमैलाहरुको तत्काल व्यवस्थापन हुनुपर्छ ।
१० हिमालयहरु र हिम नदीहरुको संरक्षण गर्दै हिमालबासीहरुलाई वातावरणमैत्री जीवनशैली अपनाउन प्रोत्साहित गर्नुपर्छ । हिमालयमा हिउँ भएन भने पृथ्वीमा जीव र वनस्पतिहरु हुने संभावना न्यून हुन्छ । हिउँ नै जीव र वनस्पतिहरुको जीवनको प्रमुख आधार हो ।
११. सूर्तिजन्य पदार्थहरु र धुमपानलाई तत्काल रोक्नु पर्छ ।
१२. वातावरण तथा जलवायू परिवर्तन र यसले पार्ने असर र प्रभावहरुको विषयमा निरन्तर संघीय तह, प्रदेश तह र स्थानीय तहका निकायहरुले नियमितरुपमा निरन्तर जनचेतना जागृत गर्ने कार्य गर्नुपर्छ ।
१३. नेपालमा भएका कानूनहरुको कडाईका साथ पालना र नीतिहरुको अनिवार्यरुपमा कार्यान्वयन गर्नुपर्छ ।
१४. अन्तर्राष्ट्रिय सन्धीहरु, सहमतिहरु र कानूनहरुको पूर्णपालन गर्नुपर्छ ।
१५. सडकहरु र राजमार्गहरु निर्माण गर्दा मानिसहरुलाई हिँड्ने पेटी र वन्यजन्तुहरुलाई सडक वारपार गर्न मिल्ले वन्यजन्तुमैत्री सडक र राजमार्गहरुको निर्माण गर्नुपर्छ । भइरहेको सडक र राजमार्गहरुलाई वन्यजन्तुमैत्री सडक बनाउनु पर्छ ।
१६. हरेक स्थानीयहरुमा पर्याप्त ढलको व्यवस्था गर्नुपर्छ र वैज्ञानिक फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्नु पर्दछ । हरियाली पार्कहरु, चौरहरु, फुलवारीहरु र खुला चिडियाखानाहरु निर्माण गर्नु पर्दछ ।
१७. हरेक नदी, खोला, नहर र कुलोहरुमा सफा पानी बग्न सक्ने व्यवस्था गर्नुपर्छ । भूमिगत सिंचाईको सट्टामा सतही सिंचाईको व्यवस्था गर्नुपर्छ । पानीको लेयर दिनदिनै घटदै जाने कार्यलाई रोक्ने कार्यहरु गर्नुपर्छ । जलविद्युत् आयोजनाहरुले ठुलठुलो पाईप भित्र पानी लानुको सट्टामा खुल्ला नहर वा कुलो बनाएर पानी लाने अनिवार्य कानूनी व्यवस्था गर्नुपर्छ ।
१८. खोलाबाट अनियन्त्रितरुपमा ढुंगा, गिट्टी र बालुवा निकाल्ने कार्यलाई तत्काल बन्द गर्नुपर्छ ।
१९. हरेक नागरिकहरु, जीवहरु र पशु पन्छीहरुको लागि तत्काल स्वच्छ र स्वस्थ्य खानेपानीको व्यवस्था गर्नुपर्दछ ।
२०. खाद्यान्न, तेलहन बाली र तरकाली बालीमा केमिकल फर्टिलाईजर, विषादी र कीटनाशक औषधीको प्रयोगमा नियन्त्रण र नियमन गर्नुपर्छ ।
२१. पशु पालन, कुखुरापालन र माछा पालनमा केमिकल फर्टिलाईजर र ऐन्टीबायोटिक्सहरुको अनियन्त्रित प्रयोगलाई नियन्त्रण र नियमन गर्नु पर्दछ ।
