एजेन्सी । मिडफिल्डर फेडेरिको भार्भेर्डेको ह्याट्रिकको मद्दतमा युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिड विजयी भएको छ । बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोलले पराजित गरेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलको २० औँ मिनेटमा भालभेर्डेले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए । सात मिनेटपछि भालभेर्डेले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ४१ औँ मिनेटमा भालभेर्डेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर म्याड्रिडलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ५८ औँ मिनेटमा भिनिसियस जुनियर पेनाल्टीमा चुक्दा म्याड्रिडले अग्रता बढाउने मौका गुमाएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड ३-० गोलले विजयी भएको हो ।
