काठमाडौं । सिन्धुली क्षेत्र नम्बर –२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले राजनीतिक सन्यास लिनुभन्दा विद्रोह रोजेको बताएका छन् ।
पार्टीका उम्मेदवार लेखनाथ दाहालविरुद्ध महेश्वर दाहाललाई उठाएपछि पार्टीले उनीविरुद्ध कारबाही गरेको थियो । बुधबार सामाजिक संजालमार्फत गजुरेलले भनेका छन्, ‘राजनीतिक सन्यास, पलायन र प्रतिरोधबीच रोज्नुपर्ने बेला आयो, र मैले प्रतिरोध—अर्थात् विद्रोह—रोजें। यो विद्रोह कुनै व्यक्तिगत प्रश्नसँग जोडिएको छैन।’ उनले विगतमा आफूले नेकपा जोगाउने प्रयास गर्दा पनि एमालेमा जाँदैछ भनेर भ्रमपूर्ण प्रचार गरेको बताएका छन् ।
यस्तो छ गजुरेलको भनाई
अन्यायको विरुद्ध वैचारिक र संगठनात्मक विद्रोह: नेतृत्व परिवर्तनको संकेत । पार्टीभित्र होस् वा बाहिर, संघर्षका आफ्नै नियम हुन्छन् । लडाइँको मैदानमा जस्तै, राजनीतिमा पनि रणनीति, कार्यनीति, धैर्य र समयको मूल्य अत्यन्त महत्वपूर्ण हुन्छ। विपक्षीले फायर खोल्दा आफ्नो तयारी अपर्याप्त छ भने पछि हट्नु कमजोरी होइन, त्यो परिस्थितिको यथार्थ मूल्याङ्कन हो । तर यदि पछि हट्ने ठाउँ नै छैन—पछाडि भीर र अगाडि चट्टानजस्तो पहरा छ भने—त्यस्तो अवस्थामा प्रतिफायर नगर्नु केवल कायरता मात्र होइन, आत्मसमर्पण नै हुन जान्छ ।
नेतृत्वले गरेको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले अभिभावकत्व लिन गरेको आग्रहलाई मैले स्वीकार गरेको छु । जनवादी क्रान्तिको आधारभूमि रोल्पा बनेजस्तै, समाजवादी क्रान्तिको सम्भावित आधारभूमि बन्ने संकेत देखिएको प्रतिकात्मरुपमा पूर्वको रोल्पा भनिने गरिएको सिन्धुली जिल्ला पार्टीको शिर उचो राख्न साथ दिनु मेरो कर्तव्य हो। यस निर्णयप्रति मलाई कुनै पश्चाताप छैन—बरु गर्व छ। किनकि यसको पृष्ठभूमि विचार, नीति, संगठन, कार्यशैली र आचरणसँग अभिन्न रूपमा जोडिएको छ।
कतिपयले भ्रमवश नकारात्मक टिप्पणी गरेका हुन सक्छन् । त्यसप्रति मेरो कुनै गुनासो छैन। तर नियतवश भ्रम फैलाउनेहरूको चरित्र भने समयसँगै उजागर हुँदै जानेछ। विगतमा नेकपालाई विभाजन हुनबाट रोक्ने मेरो प्रयासलाई समेत ‘उनी एमालेमा जाने तयारी गर्दैछन्’ भनेर व्याख्या गरिएको थियो। तर इतिहासले त्यो आरोपलाई खारेज गरिदियो। आज पनि कसैलाई जिताउन खेल खेलिएको आरोप लगाइँदैछ। तर गोयबल्स शैली—झूटलाई हजार पटक दोहोर्याएर सत्य बनाउने प्रयास—धेरै दिन टिक्दैन। अन्ततः समयले नै सत्यलाई स्थापित गर्छ ।
२०८२ असोज ९ मा बसेको केन्द्रीय समितिको बैठकमा मैले स्पष्ट रूपमा भनेको थिएँ—आगामी महाधिवेशनसम्म नेतृत्वलाई रूपान्तरणका लागि समय दिनुपर्छ। त्यस अवधिमा मुख्य नेतृत्वले विचारमा स्पष्टता, राजनीतिमा परिपक्वता, कार्यशैलीमा सुधार र आचरणमा निखार ल्याओस् भन्ने मेरो अपेक्षा थियो। यदि यस्तो हुन सकेन भने महाधिवेशनमा नेतृत्वको विकल्प अगाडि आउने कुरा मैले त्यतिबेलै स्पष्ट रूपमा राखेको थिएँ। नेतृत्वमा रुपान्तरण संभव देखिएन भने मूख्य नेतृत्वबिरुद्ध विद्रोहका लागि उचित समय त्यही हो भन्ने कुरा मलाई थाहा थियो।
महाधिवेशनअघि टकराव सिर्जना गर्ने मेरो उद्देश्य थिएन । तर संघीय संसदको टिकट वितरणमा नेतृत्वले अपनाएको अनैतिक, अपारदर्शी र भद्दा तरिकाले परिस्थितिलाई नयाँ मोडमा पुर्यायो । जब ‘कि प्रतिरोध गर, कि मर’ को अवस्था सिर्जना हुन्छ, त्यतिबेला मौन बस्नु केवल निष्क्रियता मात्र होइन—त्यो अन्यायको मौन समर्थन हुन्छ। त्यस्तो मौनता अन्ततः राजनीतिक आत्महत्या सावित हुन्छ। त्यसैले प्रतिरोध गर्नुको विकल्प रहँदैन ।
यस अर्थमा यो कदम कुनै आवेगको परिणाम होइन, यो परिस्थितिले अनिवार्य बनाएको कर्तव्य पालन हो । प्रधान र निमित्त कारण एक ठाउँमा नजुटी कुनै पनि घटना घट्दैन। विश्व इतिहासका धेरै आन्दोलनहरूमा देखिएझैँ—कुनै आन्दोलनको निमित्त कारण सानो देखिए पनि त्यसको पृष्ठभूमिमा दीर्घकालीन असन्तोष, अन्याय र विरोधको संचय हुन्छ। आजको डिजिटल युगमा सामाजिक सञ्जालमार्फत अभिव्यक्त भइरहेको जेनजी आन्दोलनमा पनि यस्तै प्रवृत्ति देखिन्छ—जहाँ दीर्घकालीन असन्तोषले सानो कारणलाई आन्दोलनको चिंगारी बनाइदिन्छ । संघीय संसदको निर्वाचनको सन्दर्भमा महेश्वर दाहालको स्वतन्त्र उमेदवारीलाई यसैअर्थमा बुझ्दा उपयुक्त हुन्छः हेर्दा सानो घटना तर पृष्ठभूमि भयानक ।
राजनीतिक सन्यास, पलायन र प्रतिरोधबीच रोज्नुपर्ने बेला आयो, र मैले प्रतिरोध—अर्थात् विद्रोह—रोजें। यो विद्रोह कुनै व्यक्तिगत प्रश्नसँग जोडिएको छैन। एमालेसँगको पार्टी एकतापछि बैठकमा उठाइएका विषयहरू, आठौँ महाधिवेशनका बहसहरू, २०७९ जेठ ४ मा संसदमा गरिएको सम्बोधन, २०७९ मंसिरमा पदाधिकारी बैठकमा प्रस्तुत प्रस्ताव, २०८० माघ १० मा कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक सहित अन्य पत्रिकाहरु र अनलाइनहरुमा प्रकाशित लेख र विभिन्न टिभी च्यानलमा दिएका अन्तर्वार्ताहरु, विधान महाधिवेशनमा उठाइएका प्रश्नहरू, प्रमुख सल्लाहकारबाट राजीनामा दिँदा उठाइएका विषय, २०८२ असोजको २८ बुँदे सुझाव, र कार्तिक १५ मा पदाधिकारीको अन्तिम बैठकमा राखिएको लिखित प्रस्ताव—यी सबैको निरन्तरतामा उभिएको यो प्रतिरोध हो ।
यसैले यो कुनै व्यक्तिविरोधी अभियान होइन। यो विचार, विधि–पद्धति, मूल्य र राजनीतिक नैतिकताको पक्षमा उभिएको विद्रोह हो। यति सबै हुदाहुदै पनि नेतृत्वको रूपान्तरणको आशामा लामो समयसम्म अलमलिनु आफ्नो कमजोरी भएको यथार्थलाई स्वीकार गर्नैपर्छ। इतिहासले बारम्बार प्रमाणित गरेको छ—अन्याय सहनेहरूले परिवर्तन ल्याउन सक्दैनन्। परिवर्तन सधैं त्यहीँबाट सुरु हुन्छ, जहाँ अन्यायको विरुद्ध पहिलो साहसी आवाज उठ्छ। अन्ततः इतिहास त्यही आवाजको पक्षमा उभिन्छ र नयाँ सम्भावनाहरूको ढोका खोल्छ।
