काबुल । अफगानिस्तानका करिब दुई लाख ७० हजार नागरिक पाकिस्तान र इरानबाट आफ्नो देश फर्किएका छन्, जसमा एक लाख १० हजार इरानबाट र एक लाख ६० हजार पाकिस्तानबाट फर्केका संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीले जनाएको छ । मध्यपूर्वमा जारी युद्धले यो सङ्ख्या अझ बढ्ने जोखिम रहेको चेतावनी पनि दिइएको छ ।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधिले फिर्तीहरू व्यवस्थित भए पनि तनावपूर्ण र चिन्ताले भरिएका भनेका छन् । फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि तेहरानले डोन र मिसाइलमार्फत प्रतिक्रिया दिएको थियो । त्यसपछिका दिनहरूमा दैनिक करिब एक हजार ७०० अफगान नागरिक इरानबाट फर्किरहेका छन् ।
प्रतिनिधिले अफगानिस्तानले इरानसँग सम्बन्धित घटनाहरूको परिणाम भोगिरहेको छ भने पाकिस्तानसँगको सीमामा पनि झडपहरू देखिएका चेतावनी दिएका छन् । उनले भने,’नाका खुल्ने बित्तिकै फिर्तीको सङ्ख्या तीव्र रूपमा बढ्न सक्छ ।’
संयुक्त राष्ट्रको शरणार्थी एजेन्सी र युनिसेफले सीमा र भित्रको व्यवस्थापन क्षमता बलियो बनाउने प्रयास गरिरहेका छन् । तर फिर्तीको ठूलो सङ्ख्यालाई मध्यनजर गर्दा थप सहयोग आवश्यक हुने चेतावनी दिइएको छ ।
पछिल्ला दुई वर्षमा पाँच लाखभन्दा बढी अफगान नागरिक छिमेकी देशबाट फर्किसकेका छन्, जसमा मात्र गत वर्ष एक लाख ९० हजार इरानबाट फर्किएका थिए ।
