नेपालको डिजिटल रूपान्तरण कार्यक्रमलाई तीव्र बनाउन एडीबीद्वारा ४० मिलियन डलर ऋण स्वीकृत

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले नागरिक र व्यवसायका लागि उच्च प्रभावका डिजिटल सेवामा पहुँच विस्तार गर्न नेपालको डिजिटल रूपान्तरण कार्यक्रमलाई तीव्र बनाउन ४० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।

एडीबीका अनुसार ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजना’ दक्षिण एसियामा पहिलोपटक एडीबी–विश्व बैंक पूर्ण पारस्परिक निर्भरता ढाँचा (एफएमआरएफ) अन्तर्गत सहवित्तीयन गरिएको परियोजना हो ।

यसले देशको डेटा होस्टिङ तथा साइबर सुरक्षा पूर्वाधार सुदृढ गर्दै सरकारी डिजिटल सुरक्षा र लचकता बढाउनेछ। परियोजनाअन्तर्गत एकीकृत नागरिक सेवा पोर्टल विकास, राष्ट्रिय सामाजिक दर्ता प्रणाली सुधार, सुरक्षित सरकारी डेटा आदानप्रदान प्लेटफर्म स्थापना तथा करिब ११ वटा उच्च प्रभावका सरकारी सेवाको डिजिटलकरण गरिने जनाइएको छ ।

नेपालका लागि एडीबीका देशीय निर्देशक आर्नो काउच्वा अनुसार डिजिटल रूपान्तरणले सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्न र आर्थिक विकासलाई गति दिन महत्वपूर्ण भूमिका खेल्नेछ । उनका अनुसार परियोजनाले सेवामा पहुँच सहज बनाउने, प्रतीक्षा समय र प्रशासनिक अवरोध घटाउने तथा सरकारी प्रक्रियामा पारदर्शिता बढाउनेछ।

यो परियोजना सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत कार्यान्वयन गरिनेछ। परियोजना ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’, १६औँ राष्ट्रिय योजना, ई–गभर्नेन्स ब्लूप्रिन्ट तथा एडीबीको २०२५–२०२९ देशीय साझेदारी रणनीतिसँग अनुरूप रहेको जनाइएको छ।

विश्व बैंक यस परियोजनाको प्रमुख ऋणदाता हो । विश्व बैंकले यस वर्ष फेब्रुअरीमा यस परियोजनाका लागि ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *