कांग्रेस सभापतिलाई थाक्ने, निरास हुने वा अल्मलिने छुट छैन

-अर्जुननरसिंह केसी ।

विश्वमा धेरै प्रतिष्ठित नेताहरू चुनाव हारेका छन् । चुनाव हार्नु जित्नु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक विशेषता हो । बेलायतका प्रधानमन्त्री सर विन्स्टन चर्चिल दोस्रो विश्वयुद्ध जिताएर पनि सन् १९४५ को आम चुनावमा पराजित भए । खाडी युद्ध जितेका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले १९९२ को राष्ट्रपतीय चुनावमा पराजित भए ।

भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धी शक्तिशाली प्रधानमन्त्री भए पनि सन् १९७७ को चुनावमा हारिन्। । नेपाली कांग्रेसका सभापति तथा २०४७ मा अन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई २०४७ को सम्बिधान निर्माण र ऐतिहासिक निर्वाचन सम्पन्न गर्दा पनि २०४८ को संसदीय निर्वाचन हार्नु भएकै हो । लोकतन्त्रमा प्रतिष्ठित,जनप्रीय वा शक्तिशाली नेताको पनि हार भएको छ , यो मात्र अस्वाभाविक घटना होइन । तर यसैलाई मापदण्ड बनाएर आमूल सुधार र पार्टी बदल्ने अठोटका मूख्य सारथीबाट नै जिम्मेवारीबाट पन्छिनु आम कांग्रेसको चाहना होइन। नेतृत्व पाएको ५० दिनकै अवधिमा बर्सौ देखि थुप्रिएका विकृति र विसङ्गति र समस्याहरु जादुगरी झैं चुट्कीको भरमा समाप्त पार्ने काम हुन नसक्नु वा नहुनु स्वाभाविक नै हो।

पार्टीको प्रमुख सारथी, कांग्रेस सभापतिलाई थाक्ने, निरास हुने वा अल्मलिने छुट छैन। परिस्थिति तथा विरासतको रुपमा आईलागेका खराबी को उपज लाई आधारमा राजीनामा गर्नु गम्भीर राजनीतिक भुल हुनसक्छ । हतार मा कुनै निर्णय नगरी विगतबाट थुप्रिंदै आएका अपयश, बिकृति र कुडा कर्कट र बर्तमान परिस्थिति तथा परिणाम को निर्मम विश्लेशण, समीक्षा र मूल्याङ्कन गरी भावी रणनीति तयार गर्न पार्टी नेतृत्व युद्धस्तरमा केन्द्रित हुनु आजको प्रमुख आवश्यकता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *