काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले चुनावी परिणामले कांग्रेसीहरुलाई गम्भीर सन्देश प्राप्त भएको बताएका छन् । सोमबार राति सामाजिक संजालमार्फत खड्काले मतदाताको निर्णयबाट विभिन्न जिम्मेवारीमा क्रियाशील कांग्रेसीहरुलाई गम्भीर सन्देश दिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘प्रतिनिधिसभाको निर्वाचनको परिणामले विशेष गरि सबैभन्दा बढी विभिन्न तहमा विभिन्न जिम्मेवारीमा कृयाशील हामी कांग्रेसीहरुलाई गम्भीर सन्देश प्राप्त भएको छ हाम्रा भगवानरुपी परमआदरणीय मतदाताहरुको निर्णयबाट । अब आबेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवार भएर हामी सबैले म म भन्दै बिगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्वाकाक्षा,आबेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–बृहत एकताका लागि निष्ठा र समर्पण भावका साथ अगाडि बढ्नुपर्ने हामी सबैको नैतिक कर्तब्य र जिम्मेवारी छ । हाम्रा अगाडि खडा भएको हिमालयन चुनौतीको सामाना गर्ने यहीनै उपयुक्त बाटो हो त्यस्तो लाग्छ तपाईंहरुको मलाई ।’
गगन र विश्वप्रकाशले विशेष महाधिवेशन गरेपछि खड्का कुनै चुनावी कार्यक्रममा सहभागी भएका थिएनन् । उनी भोट हाल्न मात्र गृहजिल्ला सुर्खेत गएका थिए । उनका आफ्नै भाइ उम्मेदवार हुँदा पनि खड्का चुनावी अभियानमा नगएको भन्दै आलोचना समेत भएको थियो ।
जेनजी आन्दोलनपछि शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएर गएपनि महाधिवेनको मिति तोक्न खड्काले आलटाल गरेपछि अन्ततः गगन विश्वप्रकाशले विशेष महाधिवेशन गरेका थिए । खड्का विशेष महाधिवेशन अवैध भन्दै सर्वोच्च अदालतमा गएका छन् । उनीहरुको रिट सर्वोच्चमा विचाराधीन छ ।
