एमाले मकवानपुरका अध्यक्ष पोखरेलद्वारा राजीनामा घोषणा

काठमाडौँ । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका हुन् ।

उनले नेकपा माले हुँदै एमालेको ४५ वर्ष लामो राजनीतिक यात्रामा अहिले पार्टीले भोग्नुपरेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्,‘नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिले पार्टीले जुन परिणाम भोग्नुपरेको छ, त्यसको कारण के हो भन्ने विषयमा गम्भीर समीक्षा हुन आवश्यक छ । यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इष्र्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन । त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमिक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो । पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिब लगाएत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमिक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिदै पार्टी पुनरगठनका लागि नेतृत्वका ले बाटो प्रशस्त गर्नु पर्दछ। आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यस यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्छ। यसै सन्दर्भमा, आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु । र अब आउने युवाहरूलाई मेरो साथ र सहयोग पूर्ण रूपमा रहनेछ । आशा छ, नयाँ युवा पुस्ताले यस पार्टीलाई सही दिशा र ढङ्गबाट अगाडि बढाउनुहुनेछ। आजसम्म तपाईंहरूबाट प्राप्त सहयोग, माया र सद्भावप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *