तनहुँ-१ मा रास्वपाका उपसभापति डा वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले)का भगवती न्यौपानेले पाँच हजार आठ सय ३० मत र नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले दुई हजार तीन सय ९३ मत प्राप्त गरेका छन् ।

यस निर्वाचन क्षेत्रमा एक लाख २६ हजार आठ सय ८२ मतदाता रहेकामा ६८ हजार एक सय २९ मत खसेको थियो । डा वाग्ले तनहुँ क्षेत्र नम्बर १ मा दोस्रो पटक निर्वाचित भएका हुन् ।

विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । त्यतिबेला पनि उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई थिए । भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गर्नुभएको थियो ।

को हुन् वाग्ले ?
विसं २०३१ मा गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले विसं २०८० वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

राष्ट्रिय योजनाको आयोगको सदस्य, उपाध्यक्षका रुपमा काम गरेका वाग्लेले युनडिपी एशिया प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । लण्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गर्नुभएका वाग्ले विसं २०७१ मा नेपाल फर्किएका थिए ।

वाग्ले नेपालका चर्चित अर्थशास्त्री, नीतिविज्ञ तथा राजनीतिज्ञ हुन् । उनी आर्थिक नीति, विकास योजना र सार्वजनिक नीतिमा गहिरो अध्ययन र अनुभव भएका व्यक्तिका रूपमा परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *