एसियाली खेलकुदको प्रवर्द्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी

काठमाडौँ । बिसौँँ एसियाली खेलकुदको प्रवर्द्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को कार्यक्रमअन्तर्गत ‘फन रन’ गर्न लागेको हो ।

एनओसीले यो दौड सफलतापूर्वक सञ्चालन गर्नका लागि रामकृष्ण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरेको छ । संयोजक श्रेष्ठले एसियन गेम्सअघि एसियाको यस शीर्ष खेलकुद प्रतियोगितामा सहभागी हुने प्रायः राष्ट्रले फन रन गर्ने परम्परा रहिआएको बताए ।

उनले भने, “हामीले पनि ओलम्पिकको भावनाअनुरुप हुने यस परम्परालाई कायम राख्न विगत तीन वर्षदेखि एसियाली खेलकुदअघि फन रनको आयोजना गर्दै आएका छौँ ।”

यसअघि, एनओसीले सन् २०१८ मा भएको जाकार्ता–पालेमबाङ एसियाड र पछिल्लो ह्वाङजाउ एसियाडको प्रचारप्रसारस्वरुप फन रनको आयोजना गरेको थियो । फन रन यही फागुन ३० गते बिहान ७ः३० बजे आयोजना गरिनेछ । एनओसी भवनको प्राङ्गणमा एक कार्यक्रमबीच सुरु हुने फन रन पाटन दरबार स्क्वायरमा पुगेर समापन हुनेछ ।

संयोजक श्रेष्ठले करिब तीन किलोमिटरको सो फन रन दूरीमा सहभागीहरुले पाटनका सम्पदा क्षेत्रको अवलोकन पनि गर्ने बताए । सो फन रनमा खेलाडी, विद्यार्थी, सञ्चारकर्मी, ओलम्पियन, खेल सङ्घसंस्था, कूटनीतिक व्यक्तित्व र सुरक्षा फौजका प्रतिनिधि गरी करिब एक हजाको सहभागिता रहने अपेक्षा गरेको उनले बताए ।

सो फन रनमा आइची नागोया एसियन गेम्सको आयोजक कमिटीका प्रतिनिधिहरू, ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधिहरुका साथै नेपालका लागि जापानी राजदूतको पनि सहभागिता रहने जनाइएको छ ।

आगामी एसियाड गर्ने जिम्मा जापानको नागोया सहरलाई दिइएको छ । प्रत्येक चार वर्षमा हुने एसियाड यसपालि आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुँदैछ । २०औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीले ३२ खेलको दर्ता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *