काठमाडौँ । चीनले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएकोमा बधाइ दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालले निर्धारित समयअनुसार स्थिर रूपमा प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न गरेकोमा चीनले बधाइ दिएको बताइन् ।
उनले नेपालले आफ्नो राजनीतिक प्रक्रियालाई सहज रूपमा अघि बढाइरहेको देख्दा चीन खुसी भएको उल्लेख गरिन्।
प्रवक्ता माओले चीन र नेपाल परम्परागत रूपमा मित्रवत् छिमेकी राष्ट्र भएको बताउँदै दुवै देशले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउने प्रयासमा एक–अर्कालाई समर्थन गर्दै आएको उल्लेख गरिन् ।
उनले विकास र समृद्धिका लागि चिरस्थायी मित्रतामा आधारित रणनीतिक सहकार्यलाई निरन्तर अघि बढाउन चीन नेपालसँग सहकार्य गर्न तयार रहेको पनि बताइन् ।
