काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको अधिकांश स्थानमा मतगणना सुरु भएको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अधिकांश स्थानमा अग्रस्थानमा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाले २८ स्थानमा अग्रता लिएको छ । यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले दुई/दुई स्थानमा अग्रता लिएका छन् ।
काठमाडौं ३ मा रास्वपाका राजु पाण्डे २,९६० मतका साथ शीर्ष स्थानमा रहेका छन् । उनलाई उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २,७०६ मतसहित पछ्याइरहेका छन् । चितवन ३ मा सोविता गौतम ९२५ मतसहित अगाडि छिन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीकी रेणु दाहाल ६७९ सहित पछ्याइरहेका छन् ।
चितवन २ रास्वपाका रवि लामिछाने १,१५८ मतसहित अगाडि छन् । नेकपा एमालेका अस्मिन घिमिरे ९०८, नेपाल कम्युनिस्ट पार्टीका प्रताप गुरुङ ७७५ र नेपाली कांग्रेसकी मिना कुमारी खरेल ५३९ मत पाएका छन् ।
काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले एकलौटी अग्रता लिएका छन् । उनले ६,१२७ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सपना राज भण्डारीले ७३७ मत प्राप्त गरेकी छिन् । भक्तपुर १ मा रास्वपाका रुकेश रञ्जित ८८८ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् ।
काठमाडौं १ मा रन्जु दर्शनाले फराकिलो अग्रता लिएकी छिन् । उनले ६,०४२ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी प्रवल थापा क्षेत्रीले २,९३२ मत प्राप्त गरेका छन् ।
यस्तै रास्वपाले मोरङ-४, मोरङ-५, तनहुँ १, काठमाडौं २, कन्चनपुर २, रुपन्देही २ भक्तपुर २. काठमाडौं १०, ललितपुर ३, काठमाडौं ७, काठमाडौं ६, कास्की १, कास्की २, कास्की ३, काठमाडौं ४ र काठमाडौं ९ मा अग्रता लिएको छ ।
