एजेन्सी । भारत आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ७ रनले हराउँदै भारतले फाइनलमा न्युजिल्याण्डसँगको भेट पक्का गरेको हो ।
जितको लागि २ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ४६ रनमात्र बनाउन सक्यो । इंग्ल्याण्डको लागि जाकोब बेथेलले सतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । बेथेलले ४८ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय ५ रन बनाउँदा विल ज्याक्सले ३५, जोफ्रा आर्चरले १९, साम कुरानले १८, टोम बान्टनले १७ रन बनाए ।
भारतको लागि हार्दिक पान्ड्यले दुई विकेट लिँदा अर्शदिप सिंह, जस्प्रित बुम्राह, वरुण चक्रवर्ती र अक्सर पटेलले समान एक/एक विकेट लिए ।
यसअघि मुम्बईस्थित वानखेडे इस्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५३ रन बनाएको थियो । भारतको लागि सन्जु साम्सनले अर्धसतक बनाए । उनले ४२ बलमा ८ चौका र ७ छक्काको मद्दतमा ८९ रन बनाएका थिए । यस्तै शिभम डुबेले ४३, इशान किशानले ३९, हार्दिक पान्ड्यले २७ र कप्तान सुर्यकुमार यादवले ११ रन बनाए ।
इंग्ल्याण्डको लागि विल ज्याक्स र अदिल रशिदले समान दुई/दुई विकेट लिँदा जोफ्रा आर्चरले एक विकेट लिए ।
अब भारतले आइतबार हुने फाइनल खेलमा न्युजिल्याण्डको सामना गर्नेछ । न्युजिल्याण्डले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
