फागुन २१ मेरा लागि कहिल्यै नबिर्सने दिन होः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्नो जीवनमा दुई संयोगको दिन भएको बताएका छन् । बिहीबार मतदानपछि सामाजिक संजालमार्फत अध्यक्ष ओलीले दुई संयोगकै कारण फागुन २१ आफ्ना लागि कहिल्यै बिर्सन नसक्ने दिन भएको बताएका हुन् ।

उनल लेखेका छन्, ‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् ।’

त्यस्तै उनले झापा विद्रोहको बिगुल फुकेको दिनकोरुपमा पनि स्मरण गरेका छन् । उनले भनेका छन्, ‘झापा आन्दोलन, जसले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको थियो। त्यही क्रममा हामीलाई जेल हालिएको थियो। झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो। जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ। देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । फागुन २१ कहिल्यै नबिर्सने दिन हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *