फिन एलिनको कीर्तिमानी सतक, दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड टी-२० विश्वकपको फाइनलमा

एजेन्सी । ओपनर फिन एलिनले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी सतक पूरा गरेपछि न्युजिल्याण्ड आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । बुधबार बेलुकी सम्पन्न पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्याण्डले फाइनलमा आफ्नो स्थान सुरक्षित गरको हो ।

जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले १२.५ ओभरमा एक विकेटको क्षतिमा १ सय ७३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । न्युजिल्याण्डको लागि फिन एलिनले कीर्तिमानी सतक बनाए । उनले ३३ बलमा १० चौका र ८ छक्काको मद्दतमा एक सय रन बनाए । यससँगै उनी टी-२० विश्वकपमा सबैभन्दा कम बलमा सतक बनाउने खेलाडी बनेका छन् ।

उनलाई टिम सेफेर्टले अर्धसतक बनाउँदै साथ दिए । उनले ३३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५८ रन बनाउँदा रचिन रविन्द्र १३ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाको लागि कागीसो रबडाले एक विकेट लिए ।

यसअघि इडेन गार्डेन्समा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि मारको जेन्सनले अर्धसतक बनाए । उनले ३० बलमा ५ छक्का र २ चौका प्रहर गर्दै ५५ रन बनाए । यस्तै डेवाल्ड ब्रेभिसले ३४, त्रिस्टान स्टुब्सले २९, कप्तान एडिन मार्क्रमले १८ र क्विन्टन डी ककले १० रन बनाए ।

न्युजिल्याण्डको लागि म्याट हेन्री, कोल म्याकोन्ची र रचिन रविन्द्रले समान दुई/दुई विकेट लिँदा लकी फर्गुसन र जेम्स निशमले एक/एक विकेट लिए ।

अब न्युजिल्याण्डले फाइनलमा भोलि भारत र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *