निर्वाचनलाई लक्षित गरी बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता

राँझा (बाँके) । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बाँकेको नेपाल–भारत सीमामा उच्च सतर्कता अपनाउनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

उनका अनुसार नेपाल–भारत मुख्य नाका जमुनाहलगायत अन्य सहायक नाकाबाट समेत आवतजावतमा रोक लगाइएको छ । सीमानाकामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्तीदेखि लिएर जाँचमा पनि कडाइ गरिरहेका छन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै फागनु १८ गते राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्म नेपाल–भारत जमुनाहानाका पूर्ण रूपमा बन्द रहेको छ । यसैगरी क्षेत्र नं १ को नरैनापुर, क्षेत्र नं २ को डुडुवा, क्षेत्र नं ३ को जानकी र खजुरा गाउँपालिकास्थित सीमावर्ती क्षेत्रमा पनि सुरक्षा जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

तीन निर्वाचन क्षेत्र रहेका बाँकेमा १३९ मतदानस्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार बाँकेमा तीन लाख ५० हजार ३७१ मतदाता छन् । जसमध्ये एक लाख ७२ हजार २२३ महिला, एक लाख ७८ हजार ३३९ पुरुष र नौ जना अन्य मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *