बीबीसी । बेलायती चर्चित र्यापर गेट्सलाई हिट एन्ड रन दुर्घटनामा एक नेपाली विद्यार्थीको ज्यान गएको घटनामा १२ वर्षको जेल सजाय सुनाइएको छ । ४१ वर्षीय गेट्स, जसको वास्तविक नाम जस्टिन क्लार्क स्यामुएललाई हो, ले खतरनाक सवारी चलाएर २० वर्षीय युबिन तामाङको मृत्यु गराएको अभियोग स्वीकार गरेका थिए । उनलाई लन्डनको वल्ड बेलीले मंगलबार सजाय सुनाएको हो।
तामाङ नेपालबाट अध्ययनका लागि बेलायत पुगेका विश्वविद्यालय विद्यार्थी थिए । १८ अक्टोबर २०२५ को साँझ इलफोर्डस्थित रेडब्रिज लेन इस्टमा सडक पार गरिरहेका बेला क्लार्क–सामुएलको कारले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा दुई दिनपछि अस्पतालमा मृत्यु भएको थियो । अदालतका अनुसार क्लार्क–सामुएलले ३० माइल प्रतिघण्टा गति सीमा रहेको क्षेत्रमा ६० माइल प्रतिघण्टाभन्दा बढी गतिमा सवारी चलाइरहेका थिए । ठक्करपछि उनी घटनास्थलबाट नरोकी फरार भएका थिए ।
न्यायाधीशले सीसीटीभी फुटेजमा दुर्घटनाअघि देखिएको ड्राइभिङलाई ‘अत्यन्तै भयावह र स्तब्ध पार्ने’ बताएका थिए । अदालतले उनलाई १७ वर्षका लागि सवारी चलाउन अयोग्यसमेत घोषणा गरेको छ । दुर्घटनाको साँझ क्लार्क–सामुएलले मदिरा सेवन गरेका थिए र उनी कानुनी सीमाभन्दा करिब डेढ गुणा बढी मादक पदार्थको प्रभावमा रहेको पाइएको थियो ।
