-नारायण गाउँले ।
विगत सात वर्षदेखि ‘प्रोजेक्ट गभरमेन्ट’ शीर्षकमा उनले सरकार कसरी चलाउने भन्ने विषयमा गहिरो अध्ययन, मिहिनेत र तयारी गरेका छन् । प्रधानमन्त्री भएको दिन के गर्ने ? अर्थ, परराष्ट्र, कृषि, स्वास्थ्य, शिक्षा, व्यापार र पर्यटनसम्म हरेक मन्त्रालयका एकएक कार्ययोजना प्रोजेक्ट गभरमेन्टभित्र समेटिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान् कोइरालादेखि अहिलेका विद्वान् अर्थमन्त्री रामेश्वर खनालसम्मका हरेक क्षेत्रका विज्ञ र स्टेकहोल्डरसँग महिनौं सँगै बसेर एकएक कानुन र अप्ठेराबारे नोट बनाएका छन् । कुर्सीमा बसेको दिन उनीसँग हरेक मन्त्रालयका नीतिगत, रणनीतिक र चालू योजनाबारे स्पष्ट खाका, तथ्याङ्क र योजना छ । यो समस्याका लागि यस्तो कानुनको अभाव छ र यति कानुन फेर्नुपर्छ भन्ने उनलाई थाहा छ । फेसमा उनी होलान् तर त्यसपछाडिको अध्ययन, मिहिनेत, दृष्टि र इनपुट धेरै ठूला विज्ञ र विशेषज्ञको छ । म त्यो मिहिनेत देशका लागि सदुपयोग होस् भन्ने चाहन्छु ।
उनी युवा छन्, सिस्टम बुझेका छन्, अनुभवी र मिहिनेती छन्, अन्य दलका लागि पनि उदाहरण र नजीर बन्न सक्ने गरी पार्टीलाई एकैपटक युवामय बनाएर आएका छन् । पार्टीभित्रको त्यो विद्रोहलाई न्याय गर्न पनि एकपल्ट उनी प्रधानमन्त्री बनून् भन्ने मेरो इच्छा छ । ब्याकफुटमा पुगेको दललाई फ्रन्टफुटमा त ल्याएकै छन्, दलबाहिरका धेरैको भरोसा र आशा पनि उनीमाथि छ ।
तर उनी प्रधानमन्त्री भएनन् भने यो देश नै नरहने, खत्तम हुने या विदेशले क्वाप्पै निल्नेजस्तो त्रास र षड्यन्त्र सिद्धान्त पत्याएर म उनको पक्षमा उभिएको होइन । आजसम्म उनी प्रधानमन्त्री छैनन् । आजसम्म एक वर्ष पनि मन्त्री भएका छैनन् । तैपनि देश त छ त । त्यत्रो दश वर्षको गृहयुद्ध भोगेर पनि, थुप्रै जनआन्दोलन, भूकम्प, नाकाबन्दी र व्यवस्था परिवर्तनको चक्र पार गरेर पनि देशको अर्थतन्त्र उभिएकै छ । कोभिड, महँगी, आर्थिक मन्दी र क्षेत्रीय युद्धहरूका कारण आज युरोपका कतिपय देशमा शून्य आर्थिक वृद्धि छ, कतिले एक प्रतिशतलाई पनि ठूलो मानेका छन् तर हामीले ठिक्कको ग्रोथ निकालिरहेकै छौँ । उनी प्रधानमन्त्री नबन्नेबित्तिकै हामी ऋणात्मक पक्कै बन्दैनौँ । यसभन्दा बेटर हुन्छ र हुनुपर्छ भन्ने आशको समर्थन हो यो । विपक्षी दलका धेरै नेताले समेत कुनै बेला गगनको क्षमताको प्रसंशा गरेको मैले सुनेको छु ।
चुनाव हो, उनैले नजित्न पनि सक्छन् । जित्दै गर्दा प्रधानमन्त्री नै बन्न पुग्ने गरी मत नआउन पनि सक्छ । पाँच वर्षको समय लामो हुन्छ । अबको संसदमा अनेक सरकार र समीकरण हुने मेरो अनुमान छ ।
मेरो चाहना एकातिर रह्यो । बालेन प्रधानमन्त्री भए हुन्थ्यो भन्ने यो देशका धेरै युवायुवतीको चाहना छ । आफ्नो घरमा साना र राजनीति नै नबुझ्ने बालबच्चा छन् भने एकपल्ट एउटा नेताको नाम सोध्नुहोला, बालेनको नाम आउँछ । मेरो छोराले बालेनमात्रै जानेको छ । त्यो अद्भुत लोकप्रियताले मान्छेलाई जमीनभन्दा माथि पुर्याउँछ तर कतिबेला काम गर्न सजिलो पनि बनाउँछ । गगनजत्तिको अनुभव, सिस्टमको समझ र नीतिगत स्पष्टता बालेनमा देखिएको छैन तर यो देश उनी एक्लैले हाँक्ने पनि होइन । रास्वपाबाट लड्दै गरेका तपाईंहाम्रै चिन्जानका धेरै दक्ष र योग्य अनुहार पनि त्यहाँ हुनेछन् । यसअघि नै सरकार चलाएको दल साथमा हुनेछ । उनले मेयर हुँदा पनि टीम बनाएर काम गरेको भन्ने सुनिन्थ्यो ।
मेन्टम पनि छ । कति काम त मोमेन्टमले आफै पनि गर्छ । गगन मात्रै फेरिएका होइनन्, तीन महिनाअघिको बालेनभन्दा आजका बालेन अलिकति परिपक्व बन्दै हो कि जस्तो पनि लाग्छ । विदेशदेखि देशसम्म लहर र लहडमात्रै होइन, धेरैले आशा र परिवर्तनको विश्वासमा उनको समर्थन गरेका छन् । तिनले पक्कै भोलि काम गर्ने सन्दर्भमा समेत सुझाव र सहयोग गर्ने नै छन् ।
कालान्तरमा या यही संसदभित्र यी दुबै प्रधानमन्त्री बन्न पनि सक्छन् । तर आमयुवा वर्गमा जुन स्तरको असन्तुष्टि, निषेध, आक्रोश र निगेटिभिटी यो देशमा भरिएको छ त्यस्तो अवस्थामा काम गर्न यी दुबैलाई सजिलो भने छैन । डे वन देखि नै यो असन्तुष्टि बाधक बनेर देखिन सक्छ । त्यो निगेटिभिटीलाई न्यूट्रलाइज गर्न गगनभन्दा पहिले बालेन प्रधानमन्त्री बने भने पनि मेरो समर्थन नै हुनेछ । रास्वपा पहिलो दल बन्ने सम्भावना धेरैले देखेका छन् । सेतोपाटीको सर्वेक्षणले पनि त्यही देखाउँछ । जुन पहिलो दल बन्छ, त्यसैलाई अर्कोले समर्थन र सहयोग गर्ने हो भने पाँच वर्षमा धेरै गर्न नसकिए पनि थिति बसाल्न सकिएला । विकास एक रातमा हुँदैन । अहिलेको मुख्य काम आशा, सपना र नागरिक खुशी हो । हामी सबै कमजोरीसहितका छौं भन्दै एकले अर्कोलाई स्वीकार गर्ने र परिष्कार गर्ने हो । सबै उमेदवारलाई शुभकामना !
