कुवेत । अमेरिका र इजरायलले इरानमाथि गरिरहेका आक्रमणको प्रतिकारस्वरूप इरानले खाडी क्षेत्रका छिमेकी देशहरूमा लगातार तेस्रो दिन पनि आक्रमण जारी राखेको छ। यसक्रममा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई र कतारको राजधानी दोहामा ठूलो विस्फोटको आवाज सुनिएको छ।
सोमबार बिहान सबेरै कुवेतमा पनि ठूलो आवाज र साइरन बजेको सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी दूतावास नजिकैबाट धुवाँ उठिरहेको देखिएको थियो।
राज्य सञ्चालित कुवेत न्युज एजेन्सीले नागरिक सुरक्षा महानिर्देशकलाई उदृत गर्दै रुमैथिया र सल्वा क्षेत्रमा आएका अधिकांश ड्रोनहरू कुवेती हवाई प्रतिरक्षाले खसालेको जनाएको छ।
कुवेतको रक्षा मन्त्रालयका अनुसार केही अमेरिकी लडाकु विमान कुवेतमा दुर्घटनाग्रस्त भएका छन्, तर सबै चालक दलका सदस्यहरू सकुशल रहेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा आकाशबाट जेट खसिरहेको र पाइलटले इजेक्ट गरेको दृश्य देखिएको छ।
कुवेती अधिकारीहरूले अमेरिकी पक्षसँग समन्वय गरी तुरुन्तै खोज तथा उद्धार कार्य सुरु गरिएको, सबै चालक दललाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको अवस्था स्थिर रहेको जानकारी दिएका छन्।
अल जजिराले कुवेतमा कम्तीमा दुई अलग–अलग घटनामा युद्धकविमान दुर्घटनाग्रस्त भएको संकेत गरेको बताएको छ । कुवेत सिटीस्थित अमेरिकी दूतावासतर्फबाट धुवाँ निस्किएको खबर पनि आएको छ, जहाँ उद्धार टोलीहरू परिचालित गरिएको देखिएको छ।
