काठमाडौँ । नेपाली कांग्रेस (बी.पी.) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ ।
आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस बीपी समाहित भएको घोषणा गरिएको हो।
कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा नेपाली कांग्रेस (बी.पी.) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ।
परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ।
नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौ देश’ भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमति पत्रमा उल्लेख छ।
नेपाली कांग्रेस (बी.पी.) ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।
समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्थाहरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ।
नेपाली कांग्रेस बीपी समाहित भएपछि नेपाली कांग्रेस थप सशक्त भएको कांग्रेसका नेताहरूले बताएका छन्।
