दक्षिणी इरानस्थित एक विद्यालयमा भएको विस्फोटमा कम्तीमा १०८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो घटना अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेको समयमा भएको बताइएको छ। विद्यालय इरानको रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) को एक आधार नजिकै अवस्थित रहेको र सो क्षेत्र हालै आक्रमणको निशानामा परेको उल्लेख गरिएको छ ।
इरानका राष्ट्रपति मसुद पेजेशकियानले उक्त घटनालाई “अमानवीय कार्य” भन्दै “आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको अर्को कालो अध्याय” भएको प्रतिक्रिया दिएका छन् । यद्यपि, विद्यालयमाथि आक्रमण गरिएको विषयमा अमेरिका र इजरायल दुवै देशले आधिकारिक रूपमा पुष्टि गरेका छैनन् ।
इरानी रेड क्रिसेन्टका अनुसार देशभर भएका हवाई आक्रमणमा हालसम्म कम्तीमा २०१ जनाको मृत्यु भएको छ भने ७४७ जना घाइते भएका छन् ।
घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ ।
