काठमाडौँ । प्रमुख तीन दलका नेताले मध्यपूर्वमा तनाव चुलिएको भन्दै त्यहाँ कार्यरत नेपालीको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारलाई मध्यपूर्वमा कार्यरत नेपालीको सुरक्षामा ध्यान दिन आग्रह गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ। युएई, इजरायल, इरान लगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दुतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु।’
त्यसैगरी कांग्रेस सभापति थापाले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले आफूहरुलाई चिन्तित बनाएको बताएका छन् ।
उनले भनेका छन्, ‘मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले हामीलाई चिन्तित बनाएको छ। विभिन्न देशहरूमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झन संवेदनशील बनेको छ। यो परिस्थितिबारे सुसुचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइमा अनुरोध गर्दछु। सुरक्षा नियमहरूको पूर्ण पालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहनुहोला। आफ्नो ख्याल गर्नुहोला । साथै, म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्दछु।’
त्यसैगरी नेकपाका संयोजक प्रचण्डले इरानमाथिको आक्रमणपछि मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाहरूले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको छ। यस परिस्थितिप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु । यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो। विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन म आग्रह गर्दछु।’
