काठमाडौँ–२ का मतदाताका मुद्दाः भ्रष्टाचार नियन्त्रण र रोजगारी

सृजना राई, काठमाडौँ । आज बिदाको दिन, कागेश्वरी मनोहरा नगरपालिकाको भवन अगाडिको बिसौनीमा भेटिए, शिव सिम्खडा, शिव पराजुली र इन्द्र श्रेष्ठ । हामीले उनीहरुसँग आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे कुरा गर्न खोज्यौँ ।

कुराकानीका क्रममा उनीहरुले अहिलेसम्म कसलाई मत दिने भन्नेमा निर्णय नगरिसकेको बताए । तर उनीहरुबीच भ्रष्टाचार नियन्त्रण र रोजगारी सृजना गर्नसक्नेलाई मत दिनेमा भने एकमत देखियो । प्रचारप्रसारको समय सकिँदै गर्दा यहाँ आउने राजनीतिक दल र उम्मेदवार पनि पातलिन थालेका छन् । तर आक्कलझुक्कल चुनावी गीत र केही झण्डा भने देखिन्छन् ।

विसं २००७ को निर्वाचनको अनुभव भएका ८५ वर्षीया सिम्खडा आफूले २०१५ सालको निर्वाचनदेखि लगातार मत दान गर्दै आएको बताए । उनका परिवारका अधिकांश सदस्य विभिन्न कारणले विदेशिएका छन । सिम्खडा भन्छन्, “रोजगारीका लागि विदेशिन पर्ने बाध्यता नबनोस्, हामी मत व्यक्तिको अनुहार मात्र हेरेर हाल्दैनाँै । सङ्गठन र सिद्धान्तले संसद्मा काम गर्न सहज हुन्छ, यद्यपि नयाँ आएका अनुहारसँग पनि उत्तिकै अपेक्षा छ ।”

सिम्खडासँगै बसिरहेका पराजुलीले पहिलो पटक २०४८ सालको निर्वाचनमा मत हालेका हुन् । उनले आफूले उम्मेदवारले ल्याएको एजेण्डाका आधारमा भोट हाल्न तयार भए पनि अहिलेसम्म कुनै उम्मेदवारकोे घोषणापत्र आफ्नो हातमा पर्न नसकेको सुनाउँछन् ।

“यसअघि निर्वाचित जनप्रतिनिधिको भूमिकासँग सन्तुष्ट छैनौँ, काम गरेका पनि छैनन”, पराजुली भन्छन्, “व्यावहारिक र प्राविधिक शिक्षा प्राथमिकता हो । पढ्ने एक काम अर्को गुर्नपर्ने बाध्यता छ । अब विद्यार्थीको अध्ययन र उसले भविष्यमा अपनाउने पेसाबीच तालमेल मिलाउनुसँगै स्वरोजगार बनाउन पनि प्राविधिक शिक्षाको आवश्यकता छ ।”

उनले आफूले अहिलेसम्म राजनीतिक दलको घोषणापत्र पढ्न नपाएको बताए । “घोषणापत्रमा देखाउनका लागि मात्रै एजेण्डाहरु ल्याएर पुग्दैन नि । भिजन के हो हेर्नै प¥र्यो । जसको कुरा गर्विलो हुन्छ, उसैलाई मत दिने हो”, उनले भने।

पराजुलीले सङ्गठनभित्रै पनि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने बताइरहँदा ६९ वर्षीया इन्द्र श्रेष्ठले नयाँ दल एवं नेतृत्वमाथिको अपेक्षा सुनाउँछन् । “नयाँ पुस्तालाई नै दिने हो । अन्य भूमिकामा अब्बल साबित भइसकेका राजनीतिमा प्रवेश गर्ने उम्मेदवारलाई किन कम आक्ने ?”, श्रेष्ठ भन्छन्।

कागेश्वरी नगरपालिकाबाट झण्डै तीन किलोमिटर पर अघि बढ्दै गर्दा बस्तीहरु पातलिदै जान्छन् । खेतीयोग्य फाँटहरु देखिन थाल्छन्, अनि शङ्खरापुर नगरपालिका प्रवेश हुन्छ । यस नगरपालिकाको वडा ९ का मतदाताहरु कृषक र कृषि प्रथामितकतामा राख्ने उम्मेदवार रोज्न चाहन्छन् । साँखुको सांस्कृतिक सम्पदा, रोजगारी र शिक्षा उनीहरुको प्राथमिकता भएको उनीहरुबीचमै भइरहेको संवादका क्रममा सुनिन्छ ।

यो वडामा लामो समयदेखि किराना व्यापार गर्दै आएकी ३६ वर्षीया शान्ति खड्काले भनिन्, “छोराछोरी रोजगारीका लागि विदेशीन नपरोस । हाम्रा छोराछोरीको भविष्य चाहि केही बन्ला भन्ने आशाले मत हाल्छौ ।” कक्षा ११ मा अध्ययनरत छोरीको भविष्य देशभित्रै फस्टाएको हेर्ने उनको चाहना छ ।

खड्काले यस क्षेत्रका कृषि उत्पादनलाई बजारको आवश्यकता स्मरण गराउँदै भनिन्, “स्थानीय उत्पादनका लागि बजार व्यवस्थापन हुुनुपर्यो । यसपटक स्थानीय उम्मेदवारलाई मत दिन्छु । यसअघि निर्वाचित हुनुभएको नेताहरुले अपनत्व ग्रहण नगर्दा किसानका समस्या समाधान नभएको उहाँका गुनासो छ । कमसेकम चुुनावपछि हाम्रो घरदैलोमा फर्केर आउनेलाई मत हाल्छु ।”

हामीले कुरा गरिरहँदा सोही स्थानकी ५० वर्षीया भवारी बास्कोटा संवादमा जोडिन्। “देशै रित्तो हुने भइसक्यो ! यहाँ देशमा बूढाबूढी मात्र बाँकी रहने भइसक्यौँ । सन्तान नभएकाको नि सुरक्षा हुनुप¥यो । उनीहरुको गाँस बास र कपासको व्यवस्था हुनुपर्यो । भोक र पैसा नहुँदा उपचारको अभावले मर्न नपरोस”, बास्कोटाले भनिन् ।

सोही वडाका स्थानीय ४३ वर्षीय नारायण खड्का, ५६ वर्षीया नातिराम खड्का र ६२ वर्षीया माधव श्रेष्ठले कृषिसँगै धर्म संस्कृति र समाज बुझने नेतृत्व आफूहरुले चाहेको बताउँछन् ।

उनीहरुले राजनीतिक स्थिरता, विकास निर्माण, भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रशासनिक सेवामा सुधारका आवश्यकता उत्तिकै प्राथमिकतामा रहेको बताउँछन् । किसानलाई मलबीउको सहज उपलब्धता र कृषि योग्य भूमिको व्यवस्थापनका लागि अब बन्ने सरकार र जनप्रतिनिधिले विशेष ध्यान केन्द्रित गर्नुपर्ने उनको चाहना छ ।

“घोषणापत्रमा एउटा भन्छन् काम गर्दा अर्कै गर्छन । घोषणापत्र हेरेर मत कसरी दिनु ?”, ५६ वर्षीय खड्का भन्छन्, “हाम्रो शङ्करापुर यो नगरपालिका किसानहरु बढी छौँ । यहाँका किसानले उत्पादन गरेका आलु, दूध जस्ता उत्पादनले बजार पाउन मुस्किल छ । पटकपटक नयाँनयाँ सांसद पठायो । तर किसानको समस्या उही छ ।”

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर दुईमा कूल २८ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये १६ जना विभिन्न राजनीतिक दलका र १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

नेकपा (एमाले)बाट मणिराम फुयाँल, नेपाली कांग्रेसबाट कविर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनील केसी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुन्ती देवी पोखरेल छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट शर्मिला माली, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाल चन्द्र श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी(संयुक्त)का उपेन्द्र कार्की, राष्ट्रिय परिवर्तन पार्टीका अनुप बोहरा, जय मातृभूमि पार्टीका आनन्द सिम्खडा, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का प्रकाश बुढाथोकी, उज्यालो नेपाल पार्टीका पवन पोखरेल, त्रिमुल नेपालका कृष्णबहादुर खत्री, राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिह्न)का नर्वदाकुमारी भट्टराई र आमजनता पार्र्टी (एकल चुनाव चिह्न)का तिलकबहादुर मगर छन् ।

यस्तै, स्वतन्त्रतर्फ अर्जुन ढु.्गाना, इरा श्रेष्ठ, टपबहादुर थापा, तिर्थ राज पौडेल, विश्वास बस्नेत, मञ्जु लामा, राजकुमार श्रेष्ठ, रुपक बस्ताकोटी, रुपक सिम्खडा, वीरेन्द्रकुमार साह, सीता तिवारी र त्रिलोकबहादुर चन्द उम्मेदवार छन् ।

कूल उम्मेदवारमध्ये २२ जना पुरुष र छ जना महिला छन् । दलतर्फबाट तीन र स्वतन्त्रतर्फबाट तीन जना महिला उम्मेदवार रहेका छन् । समावेशिताका आधारमा ७५ प्रतिशत उम्मेदवार खस आर्य, २१.४३ प्रतिशत आदिवासी जनजाति र ३.५७ प्रतिशत मधेसी समुदायका छन् । यस क्षेत्रका कूल मतदाता ८८ हजार ७०८ छन् । तीमध्ये ४३ हजार ३९३ पुरुष र ४५ हजार ३१५ महिला मतदाता रहेका छन् । महिला मतदाताको हिस्सा ५१.०८ प्रतिशत छ । ४० मतदानस्थल र १०० मतदान केन्द्र तोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *