बीबीसी । इजरायलले इरानविरुद्ध हमला गरेको छ । इरानले हमला गर्न सक्ने भन्दै इजरायलविरुद्धको खतरा हटाउन आफूले पहिला हमला गरेको इजरायली रक्षा मन्त्रालयले जनाएको छ ।
आफ्नो आक्रमणको बदलामा अब निकट भविष्यमा इजरायलमा क्षेप्यास्त्र हमला हुन सक्ने अपेक्षा गरिएको पनि उसले बताएको छ । बिहानै विज्ञप्ति जारी गरी इजरायली रक्षामन्त्री इजरेल क्याट्जले देशमा “विशेष तथा स्थायी सङ्कटकाल“को घोषणा गरिएको जनाएका छन् ।
इजरायलमा मानिसहरूलाई इरानबाट क्षेप्यास्त्र हमला हुन सक्ने भनेर सावधान गराइएको छ । इजरायलभरि हवाई हमलाबारे सावधानी अपनाउन साइरन बजाइएको छ । इरानका सरकारी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा कैयन् ठूल्ठूला विस्फोट भएका विवरण दिएका छन् ।
सो क्षेत्रमा तनाव चुलिँदै गर्दा अनि आसपासका इलाकामा अमेरिकी फौज एकत्रित भइरहेको बेला पछिल्लो आक्रमण भएको छ । तेहरानले उसको परमाणु कार्यक्रम अन्त्य गर्न राजी नभए त्यहाँ आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले धम्की दिएका थिए ।
आठ महिना अघि दुई देशबीच १२ दिनसम्म युद्ध चलेको थियो । गत वर्षको जुनमा इजरायलले अकस्मात् हमला गर्दै त्यहाँको सैन्य तथा परमाणु स्थलहरूमा बमबारी गरेको थियो भने वरिष्ठ सैन्य अधिकारी तथा परमाणु वैज्ञानिकहरूलाई मारिदिएको थियो ।
प्रतिक्रियास्वरूप इरानले इजरायलतर्फ सयौँ क्षेप्यास्त्र तथा ड्रोनले आक्रमण गरेको थियो । त्यतिबेला अमेरिकाले पनि एक दिन इरानमा हमला गरेको थियो। भूमिगत परमाणु केन्द्रहरूमा उसले बमबारी गरेको थियो र लगत्तै युद्धविरामका निम्ति दबाव दिएको थियो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे पछिल्ला वार्ताप्रति आफू खुसी नभएको बताएका थिए । यसअघि इरानमाथि आक्रमणको चेतावनी दिएका ट्रम्पले आक्रमण गर्ने वा नगर्ने बारे आफूले अझै निर्णय भने नलिएको प्रतिक्रिया दिएका थिए ।
