अनुशासित र निष्पक्ष भएर काम गर्न प्रहरी अधिकारीलाई प्रहरी महानिरीक्षकको आग्रह

गोरखा। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी अधिकारीलाई माइलमा दौडिएर इन्चमा हार्ने काम नगर्न अनुरोध गरेका छन् ।

शुक्रबार निर्वाचन अनुगमनका क्रममा गोरखा आइपुगेका उनले अनुशासित, निष्पक्ष र कर्तव्यनिष्ठ भएर काम गर्न प्रहरी अधिकारीलाई आग्रह गरे ।

‘टिकटकसहित सामाजिक सञ्जालमा संयमित हुनुहोला । निर्वाचन प्रहरीहरूलाई सकरात्मक ढङ्गले परिचालन गर्नुहोस्’, जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीलाई सम्बोधन गर्दै कार्कीले भने । उनले निर्वाचन आचारसंहितासहित प्रहरी आचारसंहिता प्रभावकारी पालना गर्नुपर्नेमा जोड दिए ।

जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको निर्वाचनसम्बन्धी छलफल कार्यक्रममा उनले सुरक्षाकर्मी, राजनीतिकर्मी, सञ्चारकर्मी एवं समग्र समाजले मौन अवधिको सम्मान गर्नुपर्ने बताए । उनले सञ्चारकर्मीलाई सही समाचार सम्प्रेषण गरी राष्ट्रिय अखण्डता तथा राष्ट्रिय सम्मानलाई कायम राख्न योगदान गर्न आग्रह गरे।

‘हामी ढुङ्गा हानाहान गरे कुन आलौकिक शक्ति आएर रोकिदिन्छ ? तसर्थ सभ्य व्यवहार हामीले नै गर्नुपर्छ’, उनले भने, ‘गलत र भ्रामक प्रचार गरेर स्थिति बिगार्नु हुँदैन । आज पनि भ्रामक प्रचारका विभिन्न समाचार आइरहेका छन्, सञ्चारकर्मीहरू संयमित हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *