काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ २३ मा बालबालिकामाथि गोली ठोक्ने र भदौ २४ मा सिंहदरबार जलाउने एउटै भएको बताएका छन् ।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सिंहदरबार जलाउनेको खोजी गर्न टाढा जानु नपर्ने बताएका हुन् । उनले पहिला गोली ठोकेपछि सिंहदरबार जलेको बताए ।
उनले भने, ‘सिंहदरबार जल्नु हुँदैनथ्यो, जल्यो, त्यो दुःखद हो । अझै पनि सिंहदरबार कसले जलाउने को भनेर खोजी भइरेहेको छ । जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो उही हो सिंहदरबार जलाउने ।’ सभापति लामिछानेले आफूहरुले सिंहदरबार बनाउने र बदल्ने पनि बताए ।
उनले सककारी ठगी प्रकरणमा कांग्रेस सभापति गगन थापाले अझसम्म प्रमाण दिन नसकेको बताए । उनले आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि दिन नसकेको बताए । उनले भने, ‘मलाई धेरै नबोल, तिखो नबोल भन्छन्, चर्को नबोल भन्छन् । ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ, चाहिएन प्रमाण भइगयो।’
उनले आफूहरू मागेर देश बनाउने पक्षमा नरहेको भन्दै गरिखाने देश बनाउने बताए। उनले फागुन २१ गतेको निर्वाचनबाट सबै सीटमा आफूहरूलाई जिताइदिन आग्रह गरे । उनले भने, ‘मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनु होला । मतदानमार्फत् अन्तिम इच्छा तपाईंहरूले नै देखाइदिनु हुनेमा म ढुक्क छु ।’
