काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले मुलुक नेपाली कांग्रेसको वाईवाई फ्याक्ट्री जस्तै चल्नुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले कांग्रेस नेता विनोद चौधरीलाई कटाक्ष गर्दै यस्तो बताएका हुन् । उनले रास्वपा वाईवाई जस्तै देश चलाउने पार्टी भएको बताए ।
उनले भने, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन छ कारखाना छ, खानी छ, जनशक्ति पनि छ तर चलेको छैन ।हामीलाई चलाउने जिम्मा दिनुस्,हामी चलाउँछौँ । यो देश नेपाली कांग्रेसको वाईवाई फ्याक्ट्री, जस्तै देशभर जानुपर्यो । रास्वपा त्यसरी उद्योग कलकारखाना चलाउने पार्टी बन्न चाहन्छ ।’
उनले चितवनले देशलाई पर्यटन प्रवद्र्धन गर्न सिकाउनुपर्ने बताए । उनले भने, ‘चितवनले देशलाई टुरिजम प्रमोसन सिकाउने चितवन बन्नुपर्छ ।’
उनले चितवन कोल्डस्टोरको हब बन्न सक्ने बताए । उनले भने,’कोल्डस्टोरको हब बन्न चाहन्छ चितवन । बर्खामा बिजुली बत्ती बढी हुन्छ । तर, हिउँदमा आफैँलाई बत्ती पुग्दैन । यो समस्या समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’
