महाकाली सन्धीका विषयमा घृणाको राजनीतिक गर्न खोजियोः पूर्वसभामुख घिमिरे

काठमाडौँ । पूर्व सभामुख एवं नेकपा एमालेका तर्फबाट झापा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिबारे आफू स्पष्ट रहेको बताएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरी घिमिरेले आफूले कुनै पनि सन्धीमा मैले हस्ताक्षर नगरेको र त्यतिबेला आफू सांसद पनि नरहेको बताएका हुन् । उनले भनेका छन्, ‘महाकाली सन्धिका विषयमा सामाजिक सञ्जाल र कतिपयले व्यक्तिगतरुपमा पनि जिज्ञासा राख्नुभएको छ । मैले यस विषयलाई धेरै गम्भीरता साथ लिएको थिइनँ । धेरैमा भ्रम पनि देखियो । महाकाली सन्धिबारे म स्पष्ट छु । जो प्रश्न सोधिरहनुभएको छ, मैले जवाफ पनि दिइहेको छु । जसले घृणाको राजनीति गर्न खोजिरहनुभएको छ, उहाँहरुलाई कम्तिमा सन्धिबारे अध्ययन र विश्लेषण गर्न अनुरोध गर्दछु । केही दिनअघि एक जनाले भाइरल बनाउने नियतले भिडियो खिचेर यही कुरा सोध्नुभयो । मैले नियोजित हो भन्ने थाहा पाएपछि जवाफ नदिएको हो । अहिले त्यो भिडियो अमुक दलको प्रचार सामग्री बनेछ । म स्पष्ट पार्न चाहन्छु– कुनै पनि सन्धीमा मैले हस्ताक्षर गरेको छैन । म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदमा थिइनँ । लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ । पार्टीमा मेरो मत जाहेर गरेको हुँ । मसँगै थुप्रै नेताले पक्ष विपक्षमा बहस गरेका थियौं । भएको यत्ति हो । पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कुनै हैसियतमा छिमेकी देशसँग सन्धी गर्दछ भन्ने पनि नबुझेको देख्दा मलाई साह्रै दिग्दारी लागेको छ ।’

उनले आफू ५० वर्षदेखि राजनीतिमा रहेको र ओहोदा र प्राप्तिका लागि राजनीति नगरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘म ५० वर्षदेखि राजनीति गरिरहेको छु । राजनीति मेरो पेसा होइन, सेवा हो । बिनाश्रमको पैसा एक रुपैयाँ लिएको छैन । मैले ओहोदा र प्राप्तिका लागि राजनीति गरेको छैन । तीन वर्षअघि राजकीय जिम्मेवारी प्राप्त हुँदा इमान्दारीताका साथ काम गरेँ, झापा क्षेत्र नं. २ का लागि मैले दिनेसम्म योगदान दिएको छु । क्षेत्रबासी महानुभावहरुलाई विगत र यो तीन वर्षमा भएको कामको विश्लेषण गर्न अनुरोध गर्दै मबाट कहिँकतै त्रुटि भेटिए विनम्रसाथ स्वीकार गर्न तयार छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *