सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्रै छः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चर्का कुरा गरेका भरमा मुलुक नबन्ने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले हामी दुई ठूला देश चीन र भारतको बीचमा रहेकाले सन्तुलन मिलाउनुपर्ने बताएका हुन् ।

उनले आन्तरिकरुपमा मात्र नभई छिमेकीलाई पनि मिलाउने नेतृत्व अहिले मुलुकलाई चाहिएको बताए । उनले देशभित्र र बाहिर सबैलाई मिलाउने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको बताए । उनले भने, ‘हामी भारत र चीनको बीचमा छौँ, चर्को कुराले मात्रै हुँदैन। सबैलाई मिलाएर जानुपर्छ । सबैलाई मिलाउने ताकत नेपाली कांग्रेससँग मात्र छ।’

उनले सिस्टम नबनाएसम्म देश नबन्ने पनि बताए । सभापति थापाले सिस्टम बनाएर विधिसंम्त ढङ्गबाट गतिका साथ काम गर्नको लागि आफूले ७ वर्षदेखि काम गर्दै आइरहेको बताए ।

उनले किसानलाई समयमा मल पुर्याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेको सम्मको काम टीम बनाएर गरिरहेको बताए । उनले भने, ‘हामीले ७ वर्षदेखि प्रोजेक्ट गभर्मेन्टमा काम गरेका छौं । किसानलाई समयमा मल पुर्याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेको सम्मको काम टीम बनाएर गरिरहेका छौँ। बल्ल काम गर्ने ठाउँमा जाने मौका पाएका छौँ।’

सभापति थापाले ठेकेदारलाई कोर्रा हान्दैमा विकास निर्माणले गति नलिने बताए । उनले भैरहवा विमानस्थल किन चलेन भन्ने कारण खोज्नुपर्ने बताए । उनले भने, ‘एयरपोर्टमा जहाज ल्यान्ड गरेन भनेर पाइलटलाई कोर्रा हानेर हुँदैन। त्यसको कारण खोज्नुपर्छ । सडक किन ढिला बनिनरहेका छन् ? कानुनमा समस्या छ, त्यसैले मैले ४१ वटा कानुन फेर्नुपर्छ भनेको छु। कुनै साथीले भनेजस्तो सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन। उत्ताउले कुराले केही हुनेवाला छैन । त्यसैले मैले भन्दै आएको छु, अब पनि पाँच वर्ष देशलाई प्रयोगशाला नबनाऔँ।’

उनले पार्टीका नेता कार्यकर्तालाई पार्टी बदलिएर आएको कुरा मतदाताका घरघरमा पुगेर बताउन आग्रह गरे । उनले बदलिएर आएको कांग्रेसलाई मत नदिनुपर्ने कारण नभएकाले अझ मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘पार्टीका साथीहरू घर घर गइदिनुपर्छ। मैले सर्लाही ४ मै मिहिनेत गर्नुपर्छ । तपाईंहरू हरेक जना आफैं उम्मेदवार बनेर मतदातामाझ जानुपर्छ । कांग्रेसको रुख चिह्नमा मत हाल्नु नपर्ने एउटा कारण छैन । देशलाई सुधार गरेर सम्हाल्दै लैजाने तागत कांग्रेसमा छ। अबको पाँच वर्षको समय खेर नफ्याँकौँ ।’

सभापति थापाले नेता कार्यकर्तालाई सामाजिक संजालमा लेखेर बस्नु भन्दा मतदाताका घरदैलोमा जान आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *