भ्रष्टाचारको आरोपमा चीनले एक मन्त्री र पार्टीका पूर्व क्षेत्रीय सचिवलाई जिम्मेवारीबाट हटायो

बेइजिङ । चीनले आफ्ना विपत् व्यवस्थापन मन्त्री र एक पूर्व क्षेत्रीय पार्टी सचिवको विधायी भूमिका खोसेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले आगामी बुधबारदेखि ‘दुई सत्र’ भनेर चिनिने आफ्नो वार्षिक व्यवस्थापिका बैठकहरू सुरु गर्दैछ, जसमा देशभरबाट हजारौँ प्रतिनिधिहरू बेइजिङ आउँदैछन्।

देशको शीर्ष व्यवस्थापिका १४औँ राष्ट्रिय जन काङ्ग्रेस (एनपिसी) को स्थायी समितिले वाङ सियाङ्सीलाई विपत् व्यवस्थापन मन्त्रीबाट हटाउने पक्षमा मतदान गरेको छ । समितिले लिउ शाओयुनलाई जनमुक्ति सेनाको सैन्य अदालतको प्रमुखको पदबाट हटाउने पक्षमा पनि मतदान गरेका थिए।

समितिले एनपिसीबाट १९ जना प्रतिनिधिलाई पनि हटाएको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

जिम्मेवारीबाट हटाइएका अधिकारीमा ‘इनर मङ्गोलिया पार्टी’ का पूर्व सचिव सुन शाओचेङ पनि छन् । उनलाई ‘अनुशासन र कानुनको गम्भीर उल्लङ्घन’ को आरोपमा अनुसन्धानको दायरामा राखिएको बताइएको छ।

हटाइएका अन्य अधिकारीमा पूर्व नौसेनाका कमान्डर शेन जिनलोङ र ग्राउन्ड फोर्सका कमान्डर ली कियाओमिङसहित नौ जना सैन्य अधिकारी पनि रहेका छन्। प्रतिनिधिहरूलाई हटाउनुको कारण निर्दिष्ट गरिएको छैन।

चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिनाको सुरुमा सेनाको ’भ्रष्टाचार विरुद्धको लडाइँ’ को प्रशंसा गरेका थिए ।

गत जनवरीमा चिनियाँ रक्षा मन्त्रालयले केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष झाङ युक्सिया र सिएमसीको ‘ज्वाइन्ट स्टाफ डिपार्टमेन्ट’ का चिफ अफ स्टाफ लिउ झेन्लीमाथि अनुसन्धान गरिरहेको बताएको थियो ।

एक दशकभन्दा बढी समयअघि सी सत्तामा आएयता चिनियाँ कम्युनिस्ट पार्टी र राज्यका सबै तहमा भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्ने ठूलो अभियानमा लिउ र झाङ पछिल्लो पटक अलग्गिएका हुन् । हालैका वर्षहरूमा यो अभियानले सेनालाई लक्षित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *