कुनै मुकुटधारीले सिंहदरबार जलाउने प्रवृत्तिको अन्त्य गर्छौंः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछिको पाँच वर्ष स्वर्णकाल बनाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले २०८२ देखि २०८७ सम्मको अबको पाँच वर्ष नेपालको स्वर्णीमकाल बनाउने बताएका हुन् ।

उनले अबका पाँच खेर फाल्न नदिने बताए । उनले आफूहरुको आँखामा सपना भएकाले उड्न चाहेको बताए । उनले भने, ‘२०८२ देखि २०८७ सम्मको अबको पाँच वर्ष नेपालको स्वर्णिमकाल बनाउँछौँ । पेटमा भोक छ, आँखामा सपना छ। उड्न चाहन्छौँ र जमीन छोडेका छैनौँ । पाँच वर्ष अर्को प्रयोग नगरौँ, परिवर्तनको वर्ष बनाउने हो ।’

सभापति थापाले २०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने यी वर्ष नेपालमा सरकार बनाउने र ढलाउनेमै गुज्रिएको बताए । उनले भने, ‘२०७४ पछिको अवधि हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो । सरकार बनाउने, सरकार भत्काउने, सरकार टिकाउने कुनै–कुनै रूपमा त्यसैको वरिपरि रहिरह्यो । त्यसैका कारण संविधानमा सुनका अक्षरमा लेखिएका शब्द कार्यान्वयन हुन सकेन ।’

उनले नयाँको भुलभुलैयामा नपर्न पनि आग्रह गरे । उनले भने, ‘हिजो कर्णालीका गाउँगाउँमा के भनेर भाषण गरेको थियो ? र सत्तामा गएपछि के गर्यो हामीले देखेको छैन ? अब फेरि नयाँ नयाँ नयाँ भनेर आउँदा नयाँको देखेको होइन हामीले ? फेरि भुलभलैयामा नपरौँ ।’

सभापति थापाले अहिले यथास्थितिवादी र उत्तेजक शक्तिलाई पन्छाउनुपर्ने बताए । उनले अहिले मुलुकलाई सोच्न सक्ने क्षमता भएको र सुझबुझ पनि भएको नेतृत्व चाहिएको बताए । उनले भने, ‘ यथास्थितिवादी शक्ति छ, जसले नेपाललाई अगाडि बढ्न दिँदैन। अर्को शक्ति छ, उससँग उत्तेजना छ, घृणा छ, रिस छ, आगो छ। अरु केही छैन । यीनलाई जसरी पनि पन्छाउनुपर्छ ।’

उनले कांग्रेसले सुझबुझपूर्ण रुपमा काम गर्ने भन्दै अब अर्को दुर्घटना हुन नदिने बताए । उनले भदौ २३ र २४ गतेको घटनालाई बिर्सिन नसक्ने भन्दै अब देशमा सरकारको गोलीबाट कोही युवाको ज्यान नजाने बताए।

उनले कुनै मुकुटधारीले सिंहदरबार जलाउने प्रवृत्तिको अन्त्य गर्ने बताए। उनले चुनावका बारेमा संशय पैदा गर्ने प्रयास भइरहेको बताए । उनले भने, ‘चुनावका बारेमा केही संशयहरू सिर्जना गर्न खोजिएको छ, ती संशयलाई चिर्दै समयमै निर्वाचन सम्पन्न गराउनेको लागि सरकारलाई सम्पूर्ण साथ दिँदै सफल बनाएर संविधानलाई ट्रयाकमा ल्याउने प्रतिबद्धताबाट एक इन्चबाट पनि तलमाथि गर्दैनौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *