इटहरी । सुनसरीमा बुधबार राति दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा राति करिब २१ः३० बजे विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका सप्तरी छिन्नमस्ता गाउँपालिका–६ निवासी ४७ वर्षीय गिरिजानन्द साहलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका साहको उपचारको क्रममा मृत्यु भएको छ।
ठक्करपछि कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्र १–०२–००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा टेम्पो चालक इटहरी–२० का ४४ वर्षीय वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र कार चालक इटहरी–१२ का २२ वर्षीय विकी विश्वकर्मा सामान्य घाइते भएका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक सुबास हमालको कमाण्डमा तथा प्रहरी चौकी खनारबाट प्रहरी नायब निरीक्षक प्रलाद बोगटीको नेतृत्वमा टोली खटिएको थियो। दुवै सवारी साधन प्रहरी चौकी खनारको नियन्त्रणमा छन्। प्रारम्भिक अनुसन्धानमा पैदलयात्रीले हतारमा बाटो काट्दा दुर्घटना भएको आशंका गरिएको छ।
यस्तै, बराहक्षेत्र नगरपालिका–११ गुप्ता टोलस्थित भित्री सडक खण्डमा को २५ प १४९ नम्बरको मोटरसाइकल पक्की कल्भर्टमा ठोक्किँदा चालक ३२ वर्षीय विजय ऋषिदेवको मृत्यु भएको छ।
मोटरसाइकल कल्भर्टभन्दा करिब तीन मिटर पूर्व–उत्तर साइडको खाल्टोमा लडेको अवस्थामा फेला परेको थियो। गम्भीर घाइते चालकलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल, भोक्राहा नरसिंह लगिएकोमा बिहीबार बिहान २ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकल पछाडि सवार करिब ३० वर्षीय दीपेन ऋषिदेव गम्भीर घाइते छन्। उनको उपचार भइरहेको छ। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी मधुवनको नियन्त्रणमा छ।
प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको आशंका गरिएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
