जेनेभा । दक्षिण सुडानमा सहायता कोषको अभावका कारण १९ लाखभन्दा बढी विस्थापितहरूको जीवन जोखिममा परेको संयुक्त राष्ट्रुङ्घको आप्रवासीमामिला हेर्ने निकायले बताएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले विश्वको सबैभन्दा बढी विस्थापन प्रभावित देशमध्ये एकमा दक्षिण सुडानमा मानवीय आवश्यकताहरू नाटकीय रूपमा स्रोतभन्दा बढी भइरहेको बताएको छ ।
“महत्वपूर्ण आर्थिक अभावले दक्षिण सुडानमा १९ लाखभन्दा बढी विस्थापित व्यक्तिको जीवन जोखिममा पारिरहेको छ,” आइओएमले विज्ञप्ति जारी गरी जानकारी गराएको छ।
विश्वको नयाँ सार्वभौम देश दक्षिण सुडान सन् २०११ मा स्थापना भएदेखि नै गृहयुद्ध, गरिबी र व्यापक भ्रष्टाचारको चपेटामा छ ।
वर्षौंको द्वन्द्व, बाढी र अस्थिरताका कारण आफ्नै विस्थापनको सामना गरिरहेको दक्षिण सुडान छिमेकी सुडानमा द्वन्द्वबाट भागेर नयाँ आउनेहरूको व्यवस्थापन समस्यासँग पनि जुधिरहेको आइओएमले जनाएको छ ।
आइओएमले भनेको छ, “सन् २०२३ अप्रिलमा सुडानमा युद्ध सुरु भएदेखि १३ लाखभन्दा बढी मानिसहरू दक्षिण सुडानमा प्रवेश गरेका थिए ।
आइओएमले यसले सीमावर्ती समुदायहरू, देशको अत्यधिक सेवा र कमजोर पूर्वाधारमा ‘ठूलो दबाब’ सिर्जना गरेको बताएको छ।
“दक्षिण सुडानले असाधारण बोझ बोकेको छ र कोषको कमीले लाखौँको लागि दिगो समाधानको प्रगतिलाई कमजोर पार्ने जोखिम छ,“ आइओएम परियोजनाका उपमहानिर्देशक उगोची डेनियलले भने ।
उनले भने, “विस्थापित परिवार र पाहुना समुदायहरूले आफ्नो जीवन पुनर्निर्माण गर्न कोशिस गरिरहेका छन्, तर यहाँ वास्तविक तनाव छ।’
निरन्तर सहयोग र शान्तितर्फको प्रगतिबिना यी समुदायहरूले नयाँ अस्थिरता र विस्थापनको सामना गर्न सक्छन्।
आइओएमले सन् २०२६ को प्रतिकार्य योजनाका लागि व्यवस्था गरिएको २९ लाख अमेरिकी डलर सहयोगका लागि निकै कम भएको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा ठूलो योगदानकर्ता रहँदै आएको संयुक्त राज्य अमेरिकाले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्केपछिे आफ्नो वैदेशिक सहायता कोष कटौती गरेको छ । अन्य देशहरूले पनि आफ्नो सहयोगको राशीको सीमा कडा गरेका छन् ।
संयुक्त राष्ट्र संघका अनुसार दक्षिण सुडानका राष्ट्रपति साल्भा कीर र उहाँका लामो समयदेखिका प्रतिद्वन्द्वी रिक माचरका समर्थकहरूबीच हालैका हप्ताहरूमा हिंसा बढेको छ – यसको अधिकांश भाग जोङलेई राज्यमा केन्द्रित छ जहाँ कम्तिमा दुई लाख ८० हजार मानिसहरू विस्थापित भएका छन् ।
द्वन्द्वले दुई ठूला जातीय समूहहरूलाई एक अर्का बिरूद्ध उक्साएको छ । डिन्का समुदायलाई प्रायः कीरसँग निकट रहेको छ भने नुएर प्रायः माचरसँग सहकार्य गरेको छ ।
