भाइरलदेखि कलाकारसम्म संसदमा पुग्दै गर्दा गगन पुग्न नहुने किन ?

-नारायण गाउँले ।

‘बीस वर्ष सांसद् भएपछि बल्ल बीस–तीसवटा कानुन फेर्नुपर्छ भन्ने थाहा भयो ?’ यो प्रश्न आफैंमा गलत छैन । तर नपर्दासम्म धेरै कुरा थाहा हुँदैन । चुनाव लड्न र मन्त्री बन्न नागरिकता चाहिन्छ भन्ने पनि त रविजीलाई परेरै थाहा भएको हो । गगन थापा चार पटक सांसद भएको सत्य हो । दुई वटा कार्यकाल संविधान बनाउनै लागेको थियो । संविधान नबनी कानुन बन्दैन ।

माओवादी युद्ध, गणतन्त्र, मधेश र जनजाति आन्दोलन, भारतको नाकाबन्दी, प्रदेशको सङ्ख्या, सीमा र नाम जस्ता कति पेचिला इस्यु पार गरेर संविधान बनेको हो । कानुन लेख्ने निर्वाचन २०७४ को थियो । ओली र प्रचण्ड मिलेर बनेको कम्युनिस्ट सरकारसँग दुई तिहाई बहुमत थियो । संसदमा कांग्रेस कमिलाजत्रो भयो । प्रमुख प्रतिपक्षको नेता शेरबहादुर थिए तर ओम्नीदेखि संसद विघटनसम्म बोल्ने गगन थापामात्रै थिए । कानुन बनाउनुपर्ने त्यो पहिलो संसद प्रचण्ड र ओलीको गाली र मुठभेडमा फस्यो । दुई पटक त ओलीले संसद् नै विघटन गरे । अदालतले संसद त फिर्ता गर्यो तर बाँकी रहेको समय एमालेले संसद चल्न दिएन । देश अध्यादेशले चल्यो !

पछिल्लो संसदमा कांग्रेस पहिलो दल बनेको थियो । जनमत अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्न पर्ने थियो । तर रविजी ओलीकै घरमा पुगेर तेस्रो दलका प्रचण्डलाई प्रधानमन्त्री बनाउन राजी हुनुभयो । पहिलो भए पनि कानुन निर्माणमा ठूलो भूमिका हुने सत्ता, सभामुख र उपसभामुख दुबै कांग्रेसका थिएनन् । बीचमा समीकरण फेरिए । प्रचण्डको आशीर्वादले कांग्रेसले राष्ट्रपति पायो । नागरिकता जस्तो अति आवश्यक र संवेदनशील विषयमा कानुन बनाउन प्रचण्ड र गगनको ठूलो भूमिका रह्यो । एक वर्षअघि ओली नेतृत्वमा कांग्रेस सरकारमा पुग्यो । त्यसपछि के भयो, भन्न नपर्ला । सन् २००८ मा गणतन्त्र आएपछि आजसम्मको १८ वर्षमा कांग्रेसले जम्मा चार वर्ष सरकार चलाएको छ । ती कुनै पनि वर्ष एकल बहुमतको सरकार थिएन । त्यसमा पनि ठूलो समय संविधान लेखन र चुनाबमा खर्च भएको छ । १४ वर्ष अरूकै नेतृत्व छ ।
ठूलो दल भए पनि देशमा जीवित कांग्रेसी पूर्वप्रधानमन्त्री शेरबहादुर मात्रै छन् । प्रचण्ड, बाबुराम, ओली, माधव नेपाल, झलनाथ र खिÞलराजसम्म धेरै पूर्वप्रम छन् । पछिल्लो दशक ओली र प्रचण्डकै नेतृत्वमा देश चलेको छ ।

तथ्य के हो भने बीस वर्ष सङ्घर्ष गरे पनि गगन थापा जम्मा नौ महिनाका लागि मन्त्री हुन पाएका छन् । बरु रविजी नै त्यसभन्दा बढी हुनुभयो । उपप्रधानमन्त्री नै हुनुभयो । दुई दुई पल्ट उपप्रधानमन्त्री भएकै आधारमा रविजी टेस्टेड हो भन्न अन्याय हुन्छ । गगन पनि त्यही हो भन्ने लाग्छ । गगनविरुद्ध रास्वपा उम्मेदवार अमरेशजी पनि त बारम्बार सांसद् नै हो । कांग्रेसबाटै हो । कानुन नबनेको जिम्मा उहाँहरूको पनि होला । उहाँ नयाँ र गगन पुराना कसरी होलान् र ? एकपल्ट टेस्टेड हुँदा, एकपल्ट स्वास्थ्यमन्त्री हुँदा उनले ल्याएको नीतिगत सुधार, कानुन र कार्यक्रमको त सबैले प्रशंसा गरेकै हुन् । रविजी आफैंले गर्नुभएको हो । आज मृगौला डाइलाइसिस निःशुल्क छ, धिपधिप भए पनि स्वास्थ्यबीमा छ । उपचारका नाममा सरकारी कोषबाट भीआईपीको विदेशयात्रा बन्द छ । ९ महिनामै कायापलट त के हुन्थ्यो र !

के देश पछिल्लो एक वर्षमा स्वर्गबाट नर्क भएको हो ? होइन, यो धेरै वर्षको असन्तुष्टि र असफलता हो भने त्यसको जिम्मा त त्यो संसद र सरकारमा हुने गगन र रवि दुबैको पनि अलिअलि त होला नै । योजना आयोगमा रहेर काम गर्ने स्वर्णिमजीहरूको पनि होला । ओली र प्रचण्डसँग कांग्रेसले गठबन्धन गर्नुअघि रास्वपाले पनि गरेकै हो । इत्ती सही, उसको पनि होला । रास्वपाका आधा जति उम्मेदवार त कांग्रेस–एमालेलगायत दलबाटै गएका रहेछन् । तिनलाई पनि भाग लाग्ला । सीमित स्रोतसाधन र मूल नेतृत्वमा नपुगी केही गर्न नसकिने स्थितिले गर्दा नै यस्तो भएको हो । तर हिजो भर्खर आएका रास्वपाहरूभन्दा सधैँ सदन र सत्तावरपर रहेको कांग्रेस यो बेथितिको पक्कै ठूलो जिम्मेवार हो । रविभन्दा गगनकै जिम्मेवारी बढी हो । तर के १८ वर्षको असफलताको सबै भारी गगनलाई बोकाउनु न्यायपूर्ण होला ?

गगन थापाले भदौ २३ का लागि आफ्नो प्रत्यक्ष भूमिका नभए पनि माफी मागेका छन् । जिम्मेवारी स्वीकार गरेका छन् । त्यत्ति पनि अरूले गरेको नदेखेर समर्थन गरेको हो । उनी विद्रोहपछि मात्रै बोलेका होइनन्, विद्रोहको दुई–तीन हप्ताअगाडि संसदमा उभिएर सरकारले राम्रो गर्न नसकेको र जनता रिसाएको स्पष्टसँग भनेका थिए । उनले तत्कालीन गृहमन्त्रीलाई टिकट रोकेका छन् । जलेको घरको फोटो बेच्दै सहानुभूति खोजेका छैनन् । तर २४ को विध्वंशमा माफी माग्ने कोही देखिएको छैन । अदालतदेखि जेलसम्म, सिंहदरबारदेखि उद्योगसम्म लागेको आगोको जिम्मा कसैले लिएको छैन ।

जिम्मेबारीबोध राजनीतिको ठूलो मानक हो । विगत डेढ दशक यस्तै आरोप–प्रत्यारोप र घृणामा सकियो । अब गगन र रविहरूले निर्माणको राजनीति गर्नुपर्छ । पढाउन त मास्टर गरेकै भोलिपल्ट पनि सकिन्छ । नयाँ पाठ्यक्रम हुन्छ, नयाँ सोच हुन्छ, राम्रो पढाइएला । तर बीस वर्ष लगाएर एउटा प्राध्यापकले अध्ययन, अनुभव र विज्ञता बटुलेको छ भने त्यसको उपयोग गर्न पनि सकिन्छ । भाइरलदेखि कलाकारसम्म २७५ जना त्यहाँ पुग्दै गर्दा गगन थापा त्यहाँ पुग्न नहुने कुनै कारण नदेखेर सपोर्ट गरिएको हो । अर्थतन्त्रदेखि कूटनीति, शिक्षादेखि पूर्वाधार, एफडीआईदेखि ऊर्जा र कनेक्टिभिटीदेखि नेट जीरोसम्म उनले बर्सौंदेखि विज्ञको टीम नै बनाएर एक्शन प्लान तयार गरेका छन् ।

रास्वपासँग विज्ञ छन्, अध्येता पनि छन् । केही नयाँ गर्ने हुटहुटी भएका कति हो कति छन् । तर सदनमा सत्ता र प्रतिपक्ष दुबैमा अध्येताहरू पुग्दा त सबैलाई फाइदै हुन्छ । सबै सीट रास्वपाले मात्रै भरिने त नहोला ।
तैपनि बटम लाइन के हो भने बीस वर्षमा तिमीले के गर्यौ त भनेर सोध्नुचाहिँ तपाईंहाम्रो हक र कर्तव्य दुबै हो । प्रश्नले नै मान्छेलाई जीवित, सान्दर्भिक र जिम्मेवार राख्ने हो ! जिम्मेवारी, दायित्व र नैतिकतामा गरिने यस्ता प्रश्न र कटाक्षलाई चाहिँ सधैँ सम्मान गर्न पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *