काठमाडौँ । पूर्वशिक्षामन्त्री महावीर पुनले नयाँ राजनीतिक दललाई झगडा नगरी मोर्चा बनाउन सुझाव दिएका छन् । सामाजिक संजालमार्फत पुनले नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्ने शासन पद्धति ल्याउन पनि नयाँ दलले मोर्चाबन्दी गर्नुपर्ने बताएका हुन् । उनले नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्ने शासन पद्धति आएमा आफू स्वतन्त्र उम्मेदवार बन्नेर पक्कै पनि जित्ने दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्ने शासन पद्धति अचानक आयो भने म पनि स्वतन्त्र उम्मेदवार प्रधानमन्त्री पदको लागि उम्मेदवार हुनेछु र मैले पक्कै पनि जित्नेछु । त्यस्तो शासन पद्धति पुराना पार्टीहरुले पक्कै पनि ल्याउन दिँदैनन् होला । त्यसैले नयाँ पार्टीहरु झगडा नगरीकन एक आपसमा मिलेर संयुक्त मोर्चा बनाई चुनाव लड्नु पर्छ र दुई तिहाई बहुमत ल्याउनु पर्छ । तर हर्क साम्पाङ, कुलमान घिसिङ र रवि /बालेन मिल्ने छाँट पटक्कै देखिएन । त्यसैले यो चुनावपछि पनि पहिले कै जस्तो आलु पाँडे सरकार बन्ने सम्भावना बढेको छ । केटा हो ! राजनिति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा बनाउ ।’
